१४ जना प्रहरी अधिकारीलाई अमेरिका जान रोक
उल्लंघनको आरोपमा आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।मुख्यालयले काठमाडौंस्थित अमेरिकी दूतावाससँग तत्काल छलफल गरी बाटो खोलिदिनसमेत आग्रह गरेको छ ।
उच्च प्रहरी स्रोतका अनुसार पछिल्लो अवधिमा प्रहरी निरीक्षकभन्दा माथिका १४ अधिकारीहरूलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । प्रहरी मुख्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै अमेरिकी सरकारको नीतिले प्रहरी कर्मचारीको वृत्तिविकासमा अवरोध आएको समेत जनाएको कान्तिपुर दैनिकमा खबर छ ।अमेरिकाबाट तालिम, गोष्ठी, सेमिनार र यूएन मिसनमा विज्ञापन आएपछि नेपाल प्रहरीका कर्मचारीले छनोट प्रक्रिया पार गरी उड्न दुई/तीन दिनमात्रै बाँकी हुँदा दूतावासले जानकारी दिने गरेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक गणेश केसीले बताए । ‘त्यसरी दिइएको जानकारीसमेत अपूरो हुने गरेको छ,’ उनले भने, ‘अन्तिम समयमा त्यसरी अस्वीकार गर्दा अर्को मान्छेसमेत पठाउन सकिँदैन ।’धेरै प्रहरीहरू भेटिङ (कुनै विषयमा गरिने जाँच) मा पर्न थालेपछि मुख्यालयले गृहको मानव अधिकार प्रवर्द्धन तथा अन्तर्राष्ट्रि्रय समन्वय शाखालाई पत्राचार गरी परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित दूतावाससँग छलफल गराइदिन अनुरोध गरेको हो । उसले द्वन्द्वकालीनलगायत अन्य घटनासँग जोडेर प्रहरी कार्यालय र त्यसको माथिल्लो निकायलाई समेत ‘भेटिङ’ मा राखेको जनाएको छ ।
‘हचुवा र एकतर्फी रूपमा कसुरदार घोषित गर्ने परिपाटी प्राकृतिक न्यायको सिद्धान्त, अन्तर्राष्ट्रिय घोषणापत्र र संविधानविपरीत छ,’ प्रहरी मुख्यालयले पठाएको पत्रमा उल्लेख छ । यसबारेमा अमेरिकी दूतावासका प्रवक्ता रवर्ट डोमेनसँग सम्पर्क गर्दा उनले ‘गोपनीयताको विषय’ भएकाले आवेदकहरूको भिसा किन अस्वीकार गरियो भन्नेबारेमा जानकारी दिन नमिल्ने बताए ।
पछिल्लो पटक अमेरिकी सरकार मातहतकै एफबीआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) को निम्तोमा गत शुक्रबार अमेरिकातर्फ जान लागेका मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डीआईजी) केशबहादुर शाहीसमेत झन्डै रोकिए । उनलाई उड्नुभन्दा दुई दिनअघि बुधबार अमेरिकी दूतावासले ‘भेटिङ’ मा परेको भन्दै प्रहरी मुख्यालयको मानव अधिकार सेललाई इमेलमार्फत जानकारी दिइएको थियो । त्यसपछि मुख्यालयले अनौपचारिक दबाब सिर्जना गरेपछि मात्र अन्तिम अवस्थामा उनलाई भिसा दिएको थियो ।
0 comments
Write Down Your Responses