बाबुआमाले घर छाडेपछि बालबालिकाको बिचल्ली

बाबुआमाले झगडा गरेर घर छाडेपछि कालिका–४ पन्ध्रबिगाहाका दुई बालबालिका बिचल्लीमा परेका छन् । १३ वर्षीया सुष्मा थारू र उनका ११ वर्षीय भाइ सुजन बिचल्लीमा परेका हुन् ।
 आर्थिक अवस्था कमजोर भएपछि ती बालबालिकाकी आमा सुन्दरी ६ वर्षअघि मलेसिया गएकी थिइन् ।
मलेसियाबाट फर्केपछि बुबा पर्ना थारूसँग सम्बन्ध बिग्रिएपछि उनी घर छाडेर हिँडेकी थिइन् । बुबा पर्नाले पनि गत पुसमा घर छाडेर बेपत्ता भएपछि उनीहरू बेसहरा हुन पुगेका छन् ।
 आपसी सम्बन्ध बिग्रिएर छिमेकीलाई समेत थाहै नदिई घरबाट निस्केका उनी हालसम्म कसैको सम्पर्कमा आएका छैनन् । बाबुआमाले छाडिसकेपछि केही समय अभिभावकको भूमिका खेलेकी उनीहरूकी जेठी दिदी १९ वर्षीया कल्पना थारूको पनि विवाह भएको छ ।
 घरका अभिभावक सबैले छाडेपछि उनीहरूको बिचल्ली भएको छ । नजिकमा आफन्त पनि नभएका उनीहरू हाल भिख मागेर खान बाध्य छन् । साँझ–बिहान छाक टार्न हम्मेहम्मे परेका उनीहरू कहिले काहीँ भोकै सुत्ने गरेको बताउँछन् ।
उनीहरू दुवैजना घरनजिकैको श्री जयकालिका मावि मुनालबस्तीमा कक्षा ५ मा अध्ययनरत छन् । तर, उनीहरूसँग कापीकलम किन्ने पैसा नहुँदा विद्यालय छोड्नुपर्ने अवस्था आइसकेको छ ।
 आजभोलि उनीहरू धेरै विद्यालयमा अनुपस्थित हुने गरेको छिमेकी मिनबहादुर मगरले बताए । ‘सधँै माग्न हिँड्ने गर्छन्, कहिलेकाहीँ मात्र विद्यालय जान्छन्,’ उनले भने, ‘मागेर नपाउँदा हामीले दिने गरेका छौँ, कहिलेकाहीँ त भोकै सुत्छन् ।’
 उनीहरूसँग सम्पत्तिको नाममा चार कठ्ठा जग्गा मात्र थियो । तर, पहिले नै अभिभावकले त्यो बन्धकी राखिदिएका छन् । उनीहरूले जग्गाको आम्दानीसमेत खान पाएका छैनन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.