घरेलु हिंसाकी पीडित महिलालाई सिलाइ मेसिन

नेपालगञ्जमा आयोजित कार्यक्रममा घरेलु हिंसा पीडित सरिता बिकलाई सिलाइ मेसिन हस्तान्तरण गरिँदै नेपालगञ्जमा आयोजित कार्यक्रममा घरेलु हिंसा पीडित सरिता बिकलाई सिलाइ मेसिन हस्तान्तरण गरिँदै 
नेपालगन्ज : घरेलुहिंसापीडित रुकुमकी सरिता विकले अब केही दिनमा घर पुगेर सिलाइकटाइ पसल खोल्ने निर्णय गरेकी छन्। अन्नपूर्ण पोस्ट् दैनिकको 'अन्नपूर्ण पोस्ट् अब देश दौडिन्छ' अभियानअन्तर्गत नेपालगन्जमा भएको कार्यक्रममा सिलाइ मेसिन पाएकी सरिताले भनिन्, 'मेरो मेसिन किन्न सक्ने क्षमता थिएन। अब घर गएर सिलाइकटाइ मेसिन खोल्छु।' उनले सिलाइकटाइसम्बन्धी ६ महिने तालिम लिएकी छन्।मेसिन पाउँदा आफू अत्यन्त सुखी भएको उनले बताइन्। घरेलु हिंसाको सिकार भएकी सरिता एक वर्षदेखि नेपालगन्जस्थित साथी संस्थाको सेल्टरमा बसिरहेकी छन्। घरेलु हिंसाको सिकार भएपछि भागेर भारत जाने क्रममा नेपाल-भारत सीमास्थित जमुनाहा नाकाबाट उनलाई उद्धार गरिएको थियो।सिलाइ मेसिन पाएकी बाँके परस्पुरकी एकल महिला उमतुल बेहना अहिले घरमा नै प्रशिक्षक बोलाएर सिलाइकटाइ सिकिरहेकी छन्। उनले अन्नपूर्णले मेसिन दिँदा जीवनमै सबैभन्दा खुसी महसुस गरेको बताइन्। उनले भनिन्, 'मेरो जीवनको सबैभन्दा खुसीको क्षण नै यही हो। आजसम्म मलाई कसैले सहानुभूतिसम्म दिएको थिएन।'लोग्नेले उमतुललाई आठ दिनसम्म खाना पनि नदिएर माइतीमा लगेर छोडेका थिए। त्यसपछि माइतीमा नै तलाक (सम्बन्धविच्छेद) को कागज पुर्‍याइयो। उमतुललाई सुनचाँदी चोरको आरोपसमेत लगाइयो। 'भिनाजुसँग लागी र गहना चोरेर गई भन्ने आरोप लगाएर निकालियो', उमतुलले भनिन्। उनी १४ वर्षदेखि अंशमुद्दा लडिरहेकी छन्। पतिविरुद्ध सर्वोच्च अदालतबाट अंश मुद्दा जितेकी उमतुलाई अहिले सौताले मुद्दा हालेकी छन्।द्वन्द्वपीडित एकल महिला मिना बस्यालले पनि मेसिन पाएपछि सिलाइकटाइ सिकिरहेकी छन्। उनले कपडा सिलाउने पसल खोल्ने इच्छा रहेको बताइन्। उनले भनिन्, 'सिकिरहकी छु। पछि टेलर खोल्ने इच्छा छ।'कार्यक्रममा उमतुल, मीना र सरितालाई सिद्धार्थ ब्यांकका शाखा प्रबन्धक पवनचन्द्र अधिकारीले सिलाइ मेसिन हस्तान्तरण गरेका थिए। ती मेसिन सिद्धार्थ ब्यांककै सहयोगमा उपलब्ध गराइएको हो। अन्नपूर्ण पोस्ट्को नेपालगन्ज अभियानको नारा महिला सशक्तीकरण हो।

0 comments

Write Down Your Responses

Powered by Blogger.