लालीगुराँसमा धितो राखेको घरजग्गा सुटुक्क बेचेको गुनासो
१९ फागुन काठमाडौं । लालीगुराँस बुहउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको भन्दै काठमाडौं जिल्ला गोंगबु गाविस वडा नं. ३ कि भगवती सापकोटाले समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोगमा उजुरी दिएकी
छिन् ।
लाली गुराँस सहकारीका सुरेन्द्र भण्डारी
धितो राखेको घर तथा जग्गा सहकारीले आफूलाई थाहै नदिई अर्कोलाई बिक्री गरेको भन्दै सापकोटाले आफ्नो घर-जग्गा फिर्ता गराइदिन आग्रहसहित आयोगमा उजुरी दिएकी हुन् ।
सापकोटाले गोंगबुमा पाँच आना जग्गामा बनेको साढे तीन तले घर धितो राखेर लालीगुराँस सहकारी संस्थाबाट ०६६ साल साउन ३० गते ४५ लाख रुपैयाँ कर्जा दिएकी थिइन् ।
६ महिनाको भाका राखी लिएको उक्त कर्जा घरजग्गा विक्रीमा आएको मन्दीका कारण सो अवधिमा तिर्न नसकेपछि ७ लाख ५० हजार रुपैयाँ ब्याज तिरिन् । तर, सहकारीले त्यसको भर्पाइ नदिएको उनको गुनासो छ ।
सहकारीले ०६७ मंसिर १९ गतेसम्म ५४ लाख ६७ हजार ७ सय ४० रुपैयाँ तिरेर घर फिर्ता गर्नु भन्यो । तर, उनीसँग उक्त रकम नभएकाले सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई भेटिन् । भण्डारीले सहकारीमा तत्काल ५ लाख रुपैयाँ बचत गरे त्यो सम्पत्ति संस्था आफैंले सकार गरी रोकेर राख्ने र कर्जा चुक्ता गरेपछि फर्ता गरिदिन्छु भने ।
उनले सोही दिन संस्थामा ५ लाख रुपैयाँ बचत गरिन् । उनकै अगाडि भण्डारीले भनेजसरी नै उनको साढे तीन तले घर संस्थाले ५४ लाख ६७ हजार ७ सय ४० रुपैयाँमा लिलामी गर्यो । त्यतिवेलासम्म पनि कार्यकारी निर्देशक भण्डारीले यो सम्पत्ति संस्थामै सुरक्षित रहन्छ, कर्जा चुक्ता गरेकै दिन तपाईको नाममा नामसारी हुन्छ, ढुक्क हुनुहोस् भने । भण्डारीको कुरा उनले पत्याइन् । र, फर्किइन्
तर, ०६८ साउन ४ गते भगवतीलाई जानकारी नै नगराई सहकारीका जुनियर कर्जा सहायक पदमा कार्यरत मित्र भण्डारीका नाममा ६५ लाख रुपैयाँमा उक्त घरजग्गा राजीनामा गराइयो । मित्र भण्डारी सुरेन्द्रका नातेदार हुन् । र, जग्गा पास गरेकै दिन उक्त् घर धितोमा मित्र भणडारीका नामबाट १ करोड २५ लाख रुपैयाँ कर्जा निकालियो ।
भगवती रकम लिएर घर फिर्ता गर्न जाँदा मात्रै थाहा भयो कि सहकारीले उनको घर बेचिसकेको रहेछ । सहकारीका कर्मचारीले घर अर्कैका नाममा बिक्री गरिसकेको र संस्थाबाट एक करोड २५ लाख रुपैयाँ कर्जा लिएकाले त्यसको व्याजसहित १ करोड ४५ लाख रुपैयाँ तिरे घर फिर्ता गरिदने बताए ।
भगवती आश्चार्यचकित भइन्, यद्यपि उनको कुरो सुन्ने कोही भएन । सुनुवाइ हुने त परै जाओस्, संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँग सम्पर्क गर्न खोजिन् तर उनले रेस्पोन्स गरेनन् ।
भगवतीले यसबारे अदालतमा मुद्दा दिए पनि अन्तिम सुनुवाइ हुन बाँकी नै छ । त्यसैले उनले आयोगमा उजुरी दिएकी हुन् । ‘सहकारीका अध्यक्ष सुरेन्द्र भण्डारी, कानून अधिकृत लेखनाथ तिवारी र जुनियर कर्जा सहायक मित्र भण्डारीसमेतबाट मेरो घरबास जिप्ट्याउने किसिमले भएको अनियमितताबारे आवश्यक छानविन गरी कर्जा सम्बन्धी सक्कल फाइल झिकाई उनीहरुउपर आवश्यक कारवाही गरी मेरो घरबास मलाई नै फिर्ता दिलाई न्याय इन्साफ पाउँ’ उनले उजुरीमा लेखेकी छन् ।
भण्डारीले भगवतीलाई ‘पागल’ बनाए
यस विषयमा बुझ्न अनलाइनखबरले लालीगुराँस सहकारी संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँग सम्पर्क गर्दा उनले ती महिला ‘पागल’ भएको प्रतिक्रिया दिए ।
‘त्यो पागल हो, उसले कुरै बुझ्दैन’ भण्डारीले भने -’पैसा नतिरेपछि संस्थाले लिलामी गरेको हो ।’
0 comments
Write Down Your Responses