नेपालमा एक वर्ष भित्र एक सय ७८ महिला मारिए

काठमाडौं : कञ्चनपुरका टेकबहादुर धामीले २४ वर्षीया पत्नीलाई खानलगाउन त दिएनन् नै, उल्टै कुटपिट गर्दै
गर्भपतन गराउन बाध्य पारे। पतिको यातना सहन नसकेर उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन्।दैलेखकी नम्सरा कामीलाई पतिले घाँटी थिचेर हत्या गरे भने झापाकी एक १५ वर्षीया युवतीलाई स्थानीय युवकले सामूहिक बलात्कार गरे। धादिङकी कुमारी तामाङको बलात्कारपछि हत्या गरियो। धनुषाकी २० वर्षीया रिभादेवी यादवलाई दाइजोको निहुँमा परिवारकै सदस्यले हत्या गरे।महिलामाथिका ज्यादतीका यस्ता घटना नेपाली समाजमा बढ्दो छ। यस वर्ष मात्रै दुई हजार तीन सय ४८ महिला र १८ वर्षमुनिका सात सय बालिका पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ।इन्सेकले शुक्रबार सार्वजनिक गरेको महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी अध्ययन प्रतिवेदनमा यस वर्ष एक सय ७८ महिला तथा बालिकाको हत्या भएको र तीमध्ये एक सय आठजना परिवारजनबाट मारिएका उल्लेख छ। यस्तै दाइजोका कारण पाँचजनाको, बलात्कारपछि ६ जनाको र बोक्सी आरोपमा एक जनाको हत्या भएको छ।महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसाका कारण एक हजार पाँच सय ६९ महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार यस वर्ष दुई सय १५ महिला तथा चार सय ६ बालिका बलात्कृत भए। एक वर्षदेखि ७२ वर्षसम्मका महिला बलात्कारबाट पीडित भएको इन्सेकको तथ्यांकमा उल्लेख छ।यस वर्ष सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रमा घरेलु हिंसाका घटना भएका छन्। मध्यमाञ्चलमा ६ सय ५१ महिलामाथि घरेलु हिंसाका घटना भएको पाइयो। २०६९ पुस १७ गते देखि २०७० पुस १६ सम्म गरेको मानवअधिकार उल्लंघन तथा ज्यादतीको अभिलेखअनुसार महिला अधिकार रक्षाको दायित्व निर्वाह गर्न राज्य सक्षम रहेको छैन।
नेपालको कानुन महिलालाई शोषणमा पार्ने खालको भएकाले बलियो कानुन बनाउनुपर्ने महिला तथा बालबालिका सेवा निर्देशनालयकी प्रहरी निरीक्षक कोपिला चुडालले बताइन्।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले हिंसापीडित महिलाको उजुरी गर्ने चेतना बढेकाले यसलाई प्रोत्साहित गर्नुपर्ने बताए।

0 comments

Write Down Your Responses

Powered by Blogger.