हराउँदै प्रथम सहिदलाई सम्झाउने चिनो

फागुन : बुंकोट काउलेभँगार पुग्ने सबैको एउटै जिज्ञासा हुन्छ, नेपालका प्रथम सहिद लखन थापा र जैसिङ
चुमी मगरको घर र उनीहरूलाई फाँसी दिएको खिर्राको रूख कता पर्छ? तर अहिले ती दुवै बाँकी छैनन्। लखन थापाको घर भत्काएर विद्यालय भवन बनाइएको छ भने उनलाई फाँसी दिएको खिर्राको रूख ढालेर पर्खाल लगाइएको छ।प्रथम सहिद लखन थापा सम्झाउने ऐतिहासिक संरचना तथा चिह्नहरूको संरक्षण गरिएको छैन। स्थानीयले लखन थापाको जीर्ण घर भत्काएर २०४५ सालमा लखन थापाकै नाममा विद्यालय निर्माण गरेको स्थानीय नीरबहादुर आलेले बताए। 'यहाँ लखन थापाको घर थियो', लखन थापा प्राविको भवनतिर देखाउँदै उनले भने, 'त्यो घर भत्काएर स्कुल बनायौं। लखन थापा र जैसिङ चुमीलाई झुन्ड्याइएको खिर्राको रूख त्यहीं थियो। त्यसलाई काटेर त्यहाँ स्कुलको पर्खाल लगायौं।'
लखन थापासँग सम्बन्धित अरू सम्पदाको पनि संरक्षण गरिएको छैन। 'थापाले पूजा गर्ने मन्दिर पनि यही स्कुलको आँगनमा थियो, पुरिएको छ', नीरबहादुर आले मगरले भने, 'अलि पर थापा लुकेको गुफा छ।' ५० मिटर लामो गुफाका बारेमा पनि चर्चा नभएको गाविससचिव तोयानाथ अम्गाईंले बताए।तत्कालीन राणा सरकारले लखन थापा र जैसिङ चुमीका पक्षमा नबोल्न चेतावनी दिएपछि बुढापाकाहरूले इतिहासका बारेमा नयाँ पुस्तालाई समेत नभन्ने गरेको जैसिङ चुमीका पनाती रत्नबहादुर चुमी मगरले बताए।
'जंगबहादुरका सेनाले लखन थापा र जैसिङ चुमीलाई फाँसी दिएपछि उनका बारेमा नबोल्नु भनेर गाउँलेलाई धम्क्याएछन्', चुमीले भने, 'कतिपय गाउँ नै छोडेर बुटवल, पाल्पा र दार्जीलिङतिर गएछन्। त्यही भएर धेरै कुरा हामीलाई थाहा छैन।' जैसिङ चुमीका सन्तान अहिले भए पनि लखन थापाका सन्तान भने नभएको उनले बताए।लखन थापाले जंगबहादुरविरुद्ध मुक्ति सेना बनाएर तालिमसमेत दिने गरेका थिए। उनलाई सहयोग गरेको आरोपमा गाउँलेलाई दु:ख दिएको त्यहाँको इतिहासबारे अध्ययन गरेका मानवशास्त्री शरदचन्द्र सिंखडाले बताए। 'लखन थापा र जैसिङ चुमीलाई खाना खुवाएको भनेर कालु लम्साललाई पनि खुट्टामा गोली हानेको भन्ने पाइन्छ', उनले भने।
लखन थापाको घर भत्काएर बनाइएको विद्यालय अर्को ठाउँमा सार्नुपर्ने गोरखाका प्रमुख जिल्ला अधिकारी कृष्ण कार्कीको भनाइ छ। हालै बुंकोटको काउलेभँगारमा लखन थापाको स्मृति दिवस मनाएर फर्किएका कार्कीले त्यस क्षेत्रको प्रवर्धन गरेर इतिहासको अध्ययन केन्द्र बनाउन सकिने धारणा राखे। 'लखन थापाको घर भत्काएर विद्यालय बनाइएको रहेछ। गाउँलेले गल्ती गरे भन्न खोजेको होइन, अज्ञानताले हो', उनले भने, 'तर विद्यालय अन्यत्र सारेर त्यो ठाउँलाई लखन थापा स्मारकका रूपमा विकास गर्नुपर्छ।'
त्यसका लागि स्थानीय बासिन्दा सक्रिय भएर राज्यसँग जोडदार माग गर्नुपर्ने उनको सुझाउ छ। गोरखाको पुरातात्त्विक सम्पदाहरूको रेखदेख, विकास र प्रवर्धन गर्ने जिम्मा पाएकी गोरखा संग्रहालयकी प्रमुख करुणा राईले त्यस क्षेत्रको अध्ययन गरी प्रवर्धनका लागि पहल गर्ने बताइन्। 'त्यहाँ लुकेका कुरा धेरै हुनसक्छन्', उनले भनिन्, 'त्यहाँ पुग्न सकेकी छैन। अब त्यहाँ पुगेर अध्ययन गर्नुपर्ला।'

0 comments

Write Down Your Responses

Powered by Blogger.