सप्तरीमा जिउँदै जलाइएको महिलाको मृत्यु

आफ्नै घरमा सुतिरहेका बेला शनिबार दिउँसो २ बजेतिर अचानक शरीरमा आगो लागेर चिच्याउन थालेको आवाज सुनेका स्थानीय जनताले नजराना खातुनलाई उद्धार गरेर उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गराएका थिए ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र त्यहीँ उपचारका क्रममा गएराति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
आगोबाट उनको करिब ९० प्रतिशत शरीरको भाग जलेको थियो । हत्या गरिएको ठानिएकी नजराना पाँच महिनाकी गर्भवती थिइन् । नजरानाको मृत्युपछि उनकी दुई वर्षीया छोरी रौनक खातुन टुहुरी भएकी छिन् । टुहुरी भएकी रौनक आफन्त र छिमेकीसँग छन् ।
अत्यन्तै मिलनसार र गर्भवती अवस्थाकी नजरानाको मृत्युको खबर पाउनासाथ स्थानीय जनता शोकमा डुबेका छन् ।नजरानाको छिमेकीसँग राम्रो सम्बन्ध थियो, स्थानीय रैहाना खातुनले भन्नुभयो, “के कति कारणले उनको हत्या गरियो, हामीलाई थाहा छैन, तर जुन किसिमको घटना भयो त्यो घटना दुःखदायी छ ।”
नजरानाका श्रीमान् गुडु अन्सारी करिब १५ दिनअघिमात्र वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका थिए । नजरानाको घटना रहस्यमय रहेकाले आवश्यक छानबिनका लागि नजरानाकी सासू बानो खातुन र जेठानी नुरजाहा खातुनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बैदवारले जानकारी दिनुभयो ।
प्रारम्भिक चरणमा नजरानाका सासूको घटनामा संलग्नता रहेको पाइएको र घटनास्थलदेखि करिब ५० मिटरको दूरीमा रहेको पोखरीको डिलमा मट्टीतेलको भाँडो बरामद भएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बैदवारले बताउनुभयो ।
यसैबीच प्रहरी नायब उपरीक्षक बैदवार नेतृत्वको टोलीले आज बिहान घटनास्थलको निरीक्षण गर्नुभएको छ ।
0 comments
Write Down Your Responses