महोत्तरीमा पच्चीस दिनमा पाँचको बलात्कार

महोत्तरी, २५ फागुन । महोत्तरी जिल्लामा फागुन महिनाको २५ दिनभित्र पाँचजना बालिका तथा महिलाको बलात्कार भएको छ । फागुन महिनाको सुरुवातसँगै जिल्लाको बनौटा गाविसमा एक १४ वर्षिया बालिकाको बलात्कार भएपछि जिल्लामा शृङ्खलाबद्ध बलात्कारका घटनाहरु घटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले
जनाएको छ ।फागुन ५ गते बनौटामा बालिकाको बलात्कार भएको घटना सेलाउन नपाउँदै १२ गते जिल्लाको बथनाहा गाविसमा एक ४० वर्षीया महिला घरमा राति एक्लै सुतिरहेको बेला बलात्कृत भएकी थिइन् । त्यसको दुई दिनपछि जिल्लाको हलखोरी गाविसमा एक ११ वर्षीया बालिकालाई गाउँ नजिकैको वनमा केराउ खेतमा लगेर बलात्कारको प्रयास भएको थियो भने एक सातापछि पुनः जिल्लाको अनकार–५ बेला गाउँमा एक ३२ वर्षीया महिला वनमा घाँस काटिरहेको बेला बलात्कारको सिकार भएकी प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो ।त्यसैगरी चार्वटा शृङ्खलाबद्ध बलात्कारको घटनापछि फागुन २२ गते पुनः जिल्लाको खैरबन्नी–४ मा वनमा गहुँखेत रुँग्न गएकी १४ वर्षीया बालिका बलात्कृत भएको  प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार बनौटाको घटनामा पीडक र पीडित दुवै एकै जातका परेकाले  विवाह गर्ने सर्तमा घटनाको मिलापत्र भएको छ भने बथनाहाको घटनामा पीडक स्थानीय ३३ वर्षीय अनिल भने चन्द्रभूषण झाविरुद्ध मुद्दा दर्ता गरिएको तर उनी सपरिवार गाउँ छाडी भागेका छन् ।
त्यस्तै हलखोरीको घटनाका पीडक स्थानीय ३२ वर्षीय प्रमोदकुमार यादवलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइसकेको र बेलाको घटनामा प्रहरीले पीडक ४० वर्षीय ललन महतोलाई पनि घटनापछि पक्राउ गरी आवश्यक कारबाही चलाइसकेको छ ।
खैरबन्नीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको स्थानीय अल्लाउद्दिन नदाफ घटनापछि फरार भएको र उनको व्यापक खोजतलास भइरहेको प्रहरीले बताएको छ ।
जिल्लामा बढेको बलात्कारका घटनाहरुपछि महिला र सर्वसाधारणहरु त्रसित भएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.