गम्भीर मानवअधिकार हनन्का दोषीलाई माफी हुँदैन : गौतम
११ बैशाख, ओखलढुंगा । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गम्भीर मानवअधिकार हनन् तथा अपराधका दोषीलाई माफी दिन नहुने बताएका छन् ।
द्वन्द्वकालमा तत्कालीन माओवादीबाट अपहरणपछि हत्या गरिएका शिक्षक गुरुप्रसाद लुईंटेलको सालिक बिहीबार रामपुरमा अनावरण गर्दै उनले विधेयकमा कतै पनि आममाफीको प्रावधान नरहेको दाबी गरे ।
बेपत्ता छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयकका विषयमा अनावश्यक विरोध भएको भन्दै उनले मानवअधिकार हनन् र गम्भीर अपराधी करार व्यक्तिलाई माफी दिनै नसकिने बताए । उनले भने-’गम्भीर मानवअधिकार हनन् तथा अपराधमा क्षमा हुनै सक्दैन, विधेयकमा आम माफीको परिकल्पना पनि गरिएको छैन । अब बन्ने आयोगले द्वन्द्वकालका सबै घटनाको छानविन गर्नेछ ।’
आयोग स्वतन्त्र हुने भन्दै उनले तत्कालीन राज्य तथा विद्रोही पक्ष जो कोहीले गम्भीर अपराध गरे क्षमा नदिइने र कानुनी कठघरामा उभ्याइने बताए । रासस
0 comments
Write Down Your Responses