मकाउ पठाइदिने आवश्वासन दिएर रकम असुल्ने गिरोहको पहिचान :

अनुसन्धान ब्युरो
काठमाडौं, ३१ असार । मकाउमा धेरै पैसा कमाउने गरी रोजगारीमा पठाइदिने आश्वासन दिएर सर्वसाधारणसँगबाट ठूलो परिमाणमा रकम असुल्ने गिरोहको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले
पहिचान गरेको छ ।
उक्त गिरोहले पछिल्लोपटक २३ जना सर्वसाधारणलाई मासिकरुपमा दुई लाख तलब पाउने गरी वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने आश्वासन दिएर जनही रु आठ लाखका दरले रकम असुलेको प्रहरीले जनाएको छ । पीडितमध्ये केहीले सो गिरोहविरुद्धमा उजुरी हालेको र उक्त निवेदनमा एक करोड ४० लाख भन्दाबढी ठगी भएको उल्लेख गरिएको छ ।रकम लिएकामध्ये केही व्यक्तिलाई थाइल्याडको बैंककसम्म पु-याएर अलपत्र रुपमा छोडेर भाग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोद्वारा आज आयोजित समीक्षा कार्यक्रममा जानकारी दिइयो ।
त्यस कार्यमा एक महिलासहित पाँचजना सङ्गठितरुपमै संलग्न रहेकामा केहीलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । उनीहरूले योजनावद्ध ढङ्गले तहगतरुपमा रकम असुल्ने, विदेश पठाउन टिकट काट्ने, भिसा लिइदिने, बैंककसम्म पु-याउने कार्यको जिम्मेवारी लिँदै आएका थिए ।
ब्युरोका प्रमुख उत्तमकुमार कार्कीका अनुसार उक्त गिरोहमा रहेर काम गर्दै आएकामध्ये धेरैको पहिचान भइसकेको छ भने रामकुमार थापामगर, राजन अवस्थी, मिलन राई र अनु चापागाईं पक्राउ परिसकेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.