सौतेनीआमा मार्न खोज्ने छोरी सहित छ जना पक्राउ

भक्तपुर, २० असार । आफ्नो सौतेनी आमालाई मार्न रु १५ लाख खर्च गरेर अपहरण गर्न लगाउने छोरीसहित घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ 
महानगरीय प्रहरी वृत्त थिमीको टोलीले घटनामा संलग्ग छ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीले घटनाबारे जानकारी दिँदै यही असार १५ गते विराटनगर घरभई हाल गठ्ठाघर बस्दै आएकी ममता घिमिरे धमलालाई गठ्ठाघरबाटै अपहरण गर्दै गर्दा प्रहरीले घटनास्थलबाटै दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा नुवाकोट लिखु–८ घरभई हाल गोंगबु बस्दै आएका २२ वर्षीय सुरेश गुरुङ र नुवाकोट समुद्रदेवी–८ का शेषमान तामाङ छन् । उनीहरूलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि सौतनी आमालाई चाहबिल र अष्ट्रेलिया बस्दै आएका दुई छोरीसहितले मार्ने योजना बनाएको रहस्य खुलेको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।
प्रहरीले चाहबिल बस्दै आएकी १७ वर्षीया ऋचा धमला, उनकै प्रेमी काभ्रे खहरेपाङ्गो–२ का आशमान लामा, घटनामा संलग्न रहेका काठमाडाँै ठमेल बस्दै आएका सुशील नापित र नुवाकोट सिक्रे घरभई ठमेल बस्दै आएका राजेश गुरुङलाई पनि पक्राउ गरेको छ ।
घटना विवरणअनुसार २०६५ साल जेठ ९ गते दिदीबहिनी लीजा धमला र ऋचा धमलाकी आमा अम्बिका धमलालाई चाहबिलस्थित घरमा आफनै बाबु मुरारी धमलाले आगो लगाएर हत्या गरेको रिस फेर्न सौतेनी आमालाई मार्ने योजना बनाएको रहस्य खुलेको हो ।
आमाको हत्या गरेपछि बाबु मुरारी जेलमा छन् भने ऋचा आफन्तसँग बस्दै आएकी थिइन् 
अष्ट्रेलिया बस्दै आएकी लीजा तीन महिनाअघि नेपाल आएपछि ऋचा र आशमानसहितले अपहरण गरी हत्या गर्ने योजना बनाएका थिए । हत्याका लागि खर्च हुने रु १५ लाखमध्ये अष्ट्रेलियाबाट लीजा र ऋचाले खर्च गर्ने अपुग रकम आशमानले खर्च गर्नेगरी योजना बनाएको प्रहरी अनुसन्धानको क्रममा खुलेको हो ।
योजनाअनुसार आशमानका साथी शुसील र राजेशले हत्याका लागि रु १५ लाख धमला दिदीबहिनीसँग लिने र रु तीन लाख खर्च गरेर हत्या गर्न अर्को योजना बनाएका थिए । सोही योजनाअनुरुप आशमानले ममताको हत्या गरेपछि तीन लाख रुपैया दिने शर्तमा पहिलो किस्तास्वरुप रु ६८ हजार दिएर सुरेश र शेषमानलाई परिचालन गराएका थिए ।
शर्तअनुसार अपहरण गरेर लगेपछि घाँटी थिचेर हत्या गर्ने योजनाका साथ मोटरसाइकलमा आएका सुरेश र शेषमानलाई प्रहरीले गठ्ठाघरबाट अपहरणको प्रयास गर्दागर्दै पक्राउ गरेको थियो । पक्राउ परेका छ जनालाई नै प्रहरीले अपहरण गरी ज्यान मार्ने उद्योग र सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।
अष्ट्रेलियामा रहेकी लीजालाई भने नेपाल झिकाउने प्रहरीले प्रक्रिया अगाडि बढाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.