बङ्गुर पाल्नेको आम्दानी अधिकृतको भन्दा दोब्बर

इलाम, असार २५ – सरकारी सेवामा शाखा अधिकृत स्तरका कर्मचारीको तलबभन्दा दोब्बर कमाइ गर्न सक्षम भएपछि टेकबहादुर राईलाई अहिले कुनै पछुतो छैन । हालै घोषित पूर्वी सूर्याेदय नगरपालिका–५ केराबारीका राईको कमाइ आफ्नो व्यवसायप्रति पूर्ण सन्तुष्ट रहेको बताउँछन् ।
बिहानदेखि बेलुकासम्म आफ्नै बङ्गुर फार्ममा खटेर अधिकृतभन्दा बढी कमाउनुहन्छ उनी । बङ्गुरबाट उनको कमाइ लोभलाग्दो छ ।
विसं २०६० मा काठमाडौँस्थित कान्तिपुर पब्लिकेशनबाट छँदाखाँदाको जागिर चटक्कै छाडेर गाउँ हान्निएका उनले घरमै बङ्गुरपालन व्यवसाय थालेका हुन् । काठमाडौँमा बस्दा उसबेला छ हजार जागिर थियो । त्यसले खान र पकेट खर्च नै चलाउन धौधौ परेपछि प्रेसको काम छाडेर घर फर्किएको हुँ, उनी भन्छन्, “अहिले महिनामा ५० हजारभन्दा बढी नै कमाउँछु, मीठो मसिनो खान पनि पुगेकै छ ।”
घर फर्किएपछि स्नातक तह पढ्न थाले तर पूरा भने गरेको छैन् । उनको बङ्गुरपालन व्यवसाय फस्टाउँदै गयो । रु एक लाखले व्यवसाय सुरू गरको राईको अहिले खोरमा १० लाखभन्दा बढीका बङ्गुर छन् ।
राईको बङ्गुर फार्ममा डयुयोर्क, हेमसायर, योर्कसायर जातका ६४ वटा बङ्गुर छन् । यसमा तीन दर्जनभन्दा बढी पाठापाठी छन् । एउटा भुनी माउले तीन महिनामा बच्चा पाउँछ । माउ पनि पाँच वटाभन्दा बढी छन् । महिनामा कम्तीमा ६० देखि ७० वटा पाठापाठी बिक्री गर्ने गरेको उनी बताउँछन् ‘गर्न सक्दा र खट्यो विदेशमा कमाउनेभन्दा दोब्बर यहीँ कमाउन सकिन्छ’ ।राईको साङपाङ बङ्गुर फार्मको निरीक्षण गरेपछि जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा पशुपति ढुङ्गानाले भने, “राईजस्तै थुप्रै युवाले स्वदेशमै बसेर राम्रो व्यवसाय गर्न सक्छन्, उनीहरुलाई राज्यले पनि लगानी गर्छ ।”
उन्नत जातका बङ्गुरबाट जन्मिएका पाठापाठी पाल्नका लागि गोदक, पशुपतिनगरलगायत जिल्लाकै अन्यत्र पनि लैजाने गरिन्छ । उत्पादित बङ्गुर र पाठापाठीको बजार सीमावर्ती सिक्किम र दार्जिलिङ हो । भारत पु¥याएपछि एउटा पाठो कम्तीमा चार हजार देखि पाँच हजारसम्म बिक्री हुने उनी बताउँछन् ।
उनलाई बजारको पनि कुनै समस्या छैन । व्यापारी घरघरमै गाडी लिएर बङ्गुर किन्न आउँछन् । एउटा वयस्क बङ्गुरमा कम्तीमा पनि ३०० देखि ३२० किलोग्रामसम्म मासु हुन्छ । यसलाई रु ४० हजारदेखि ६२ हजारसम्ममा बिक्री हुने उनको भनाइ छ ।
सबै खर्च कटाएर उनलाई मासिक रु ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । बङ्गुरको मासु खाँदा मानिसलाई कुनै पनि खालको असर नगर्ने भएकाले यसको मासुको माग बढ्दै गएको पाइन्छ ।
राईले दुई छोरीलाई नै बोर्डिङ पढाउने तयारीमा छन् । केही वर्षअघिसम्म दुःखले गुजारा चलाउनुपर्ने वाध्यता रहेकामा अहिले गाउँकै खान्दानी परिवारमा गनिन थालेका छन् ।
बङ्गुरपालन व्यवसाय थालेको छोटो अवधिमै उनले रु २५÷२६ लाखपर्ने सोही स्थानमा १८ रोपनी जग्गा, ११ लाखमा एउटा पिकअप गाडी खरिद गरिसकेका छन् ।
जिल्ला पशु सेवा कार्यालयले उनलाई चालु वर्षमा खोर व्यवस्थापनका लागि रु ७५ हजार सहयोग गरेको छ भने बङ्गुरलाई आन्तरिक तथा वाह्य परजीविको सङ्क्रमण नहोस् भनेर औषधि उपचारको समेत प्रबन्ध मिलाएको छ ।
अहिले उनको फर्म यस व्यवसायका बारेमा सिक्नेका लागि उपयुक्त थलो बनेको छ । जिल्ला पशु सेवा कार्यालयले उनलाई जिल्लाको एक सफल व्यावसायीको सूचीमा राखेको छ 
थोरै लगानीमा बढी फाइदा लिन सकिने भएकाले पशुपतिनगर–९ तीनखुट्टेमा तुलु तामाङ, गोदकमा माईबेनी कृषि सहकारी संस्थाले पनि व्यावसायिक रूपमा बङ्गुरपालन व्यवसाय सुरू गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.