विराटनगर–जोगबनी ३५ वर्षदेखि एउटैको रजाइँ, नयाँ छिर्न नदिने

खिलानाथ ढकाल विराटनगर, साउन २७
सिन्डिकेट सास्ती
खुट्टा टेक्ने ठाउँमात्र भएको बसमा चढेर जोगबनीबाट विराटनगर आउँदा मंगलबार विराटनगर–१०, सरस्वती टोलकी गंगा पौडेल हैरानमात्र भइनन्, किनमेल गरेर ल्याएको सामान मुस्किलले जोगाइन्। 
 ढोकाबाट निस्किँदा रातोपिरो भएकी उनले यस्तो भिडामभिड कहिलेदेखि हट्ला र किनमेलका लागि जोगबनी जान सजिलो हुन्थ्यो भनेर सोचिरहिन्। 'खुट्टा टेक्नेसम्म चाहिँ ठाउँ भेटें, अनि डन्डी समातेँ,' उनले भनिन्, 'ठेलमठेलले उकुसमुकुस भयो।' 
 विराटनगर–जोगबनी आउजाउ गर्ने गंगाजस्ता धेरै गृहिणी दिनहुँ यसरी नै पेलिन्छन्, यो सात किलोमिटर सडक छिचोल्दा गलेर फुत्रुक्क हुन्छन्। 
 रंगेलीबाट विराटनगर आउँदै गरेको को१ख ७३५ नम्बरको थोत्रो गाडी सोमबार कटहरी चोकमा रहेको बीच सडकको शालिकमा ठोक्कियो। प्रहरीका अनुसार भरिभराउ यात्रु बोकेको उक्त गाडी आफ्नो दिशामा गुड्न सकेन र अनियन्त्रित भइ ठोक्कियो। 
 यो दुर्घटनामा ५२ जना यात्रु घाइते भए। जसमध्ये ३० जना न्यूरो घाइते र २२ सामान्य घाइते भए। मानवीय क्षति हुन नपाए पनि सर्वसाधारण यात्रुले थोत्रो सवारीमा हिँड्दाको परिणाम भोगेका छन्। माथिका दुबै प्रकरण यातायात व्यवसायीद्वारा सिर्जित समस्या हुन्। सरकारसमेतले खारेज गरिसकेको आलोपालो प्रणाली 'सिन्डिकेट' चलाएर यातायात क्षेत्रमा एकछत्र रजाइँ गरेका केही यातायात व्यवसायीका कारण यी क्षेत्रको यात्रा दिनहुँ जोखिमपूर्ण बन्दै गइरहेको छ। जोगबनी–विराटनगर सडकमा नयाँ गाडी चलाउनै दिँदैनन्,' यातायात क्षेत्रमै काम गरिरहेका विराटनगर–१६ का राजकुमार मगरले सेतोपाटीसँग भने, 'मैले जान्दा यी गाडी यस्तै थोत्रा थिए, अहिले दिनहुँ सडकमा बिग्रेर थन्किरहेका हुन्छन्।' उनका अनुसार थोत्रा गाडीमा दिनहुँ यात्रु दुःख बेसाइरहेका हुन्छन्। 
 जोगबनी–विराटनगर सडकमा यातायात सञ्चालन गर्ने मोरङ मिनी बस व्यवसायी संघ २०३७ सालदेखि एक्लै सक्रिय छ। संघका अनुसार यो संघ जन्मेदेखि नै यहाँ आलोपालो प्रणालीमा मात्र सवारी गुड्ने इजाजत गाडीहरूलाई दिइएको छ। 
 '१५ दिन आधा, १५ दिन आधा गरेर आलोपालो गाडी चल्छन्,' संघका कार्यालय सचिव मदनकुमार श्रेष्ठले भने, 'यहाँको बस व्यवस्थापन समितिले यही तरिकाले गाडी चलाइरहेको छ।'  विराटनगर–जोगबनी सडकका निम्ति चलाउने गरेका ६५ थोत्रा गाडी छन्। एक दिन ३२ र अर्को दिन ३३ गरेर पालो मिलाइएको छ। दिनमा एउटा गाडी चारपटक ओहोरदोहोर गर्छन्। विराटनगर–जोगबनी किनमेल गर्न हिँड्ने खचाखच भीडलाई यी गाडीले थेग्न सकिरहेको छैन। 
 थोत्रा गाडीमा चढ्न संकोच मान्ने यात्रुले विकल्पका रूपमा रिक्सा र मारूतीको सहारा लिने गरेका छन्। जोगबनी–विराटनगर आउजाउ गर्दा रिक्साले एक सय २० रूपैयाँसम्म लिन्छन्। रिजर्बमा कुद्ने मारूतीमा त्यही हाराहारीमा पैसा खर्चिनुपर्छ। 
 'साधारण किनमेलका लागि हिँड्ने हामीजस्ता गृहिणीले त्यत्रो पैसा खर्च गर्ने हैसियत राख्दैनौं,' पौडेलले भनिन्, 'बरू एकछिन दुःख पाएर यस्तै थोत्रा गाडीमा हिँड्छौं।' 
 श्रेष्ठका अनुसार यो रूटमा चल्ने जर्मनीस्थित डेमलर बेञ्च कम्पनीका पुराना गाडी हुन्। यी गाडी वर्षौं पहिले काठमाडौंबाट यहाँ ल्याइएका थिए। नयाँ मिनी र माइक्रोबसले अहिले राजधानीमा त्यस्ता थोत्रा गाडी विस्थापित भइसकेका छन्। तर यहाँ भने नयाँ कम्पनीका गाडीलाई छिर्न दिइएको छैन। 
 स्रोतका अनुसार यो रूटमा नयाँ गाडी गुडाउन टाटा र आइसर कम्पनीले पटक–पटक प्रस्ताव गरेका थिए। तर आलोपालो प्रणालीमा 'नाफाघाटा'को हिसाब देखाएर यो संघले छिर्नै बन्देज लगाएको स्रोतले जनाएको छ। तर कार्यालय सचिव श्रेष्ठ नयाँ गाडी छिर्न नदिएको भन्ने आरोप गलत भएको दाबी गर्छन्। 'यो रूटमा नयाँ गाडी थपेर फाइदै छैन,' उनी भन्छन्, 'लगानी नै उठाउन गाह्रो पर्छ भनेपछि ती कम्पनीले नयाँ गाडी हाल्न मानेनन्।' गैरकानुनी सिन्डिकेट चलाएर एउटैले रजाइँ गरिरहेको विषयमा स्थानीय प्रशासनले चासो देखाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले नयाँ गाडी थप्ने प्रस्ताव लिएर प्रशासनमा कोही आए सिन्डिकेट तोडिदिने र सिन्डिकेटवालालाई कारबाही गर्ने चेतावनी दिएको छ।   नयाँ गाडी कुदाउने भन्दै कोही आए म तुरून्त छिराइदिन्छु,' प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने, 'कोही नआइकन थप्ने नथप्ने कुरै भएन।' 

0 comments

Write Down Your Responses

Powered by Blogger.