प्रधानमन्त्रीको विकल्प खोज्दै बाबुरामको दौडधूप
२८ मंसिर, काडमाडौं । राजनीतिक सहमतिका लागि भन्दै प्रधानमन्त्री डा. बाबुारम भट्टराईले विपक्षी नेतासमक्ष नयाँ प्रस्ताव अगाडि सार्नुभएको छ । यदि वर्तमान सरकारकै मातहतमा संविधान संशोधन गर्न, निर्वाचनको मिति घोषणा गर्न र संवैधानिक बाधा अड्काऊ फुकाउन अन्य पार्टीहरु सहमत भए कांग्रेस वा एमालेको नेतृत्वमा सरकार बनाउन सहमत हुने प्रस्ताव अनौपचारिकरुपमा प्रधानमन्त्री भट्टराईले विपक्षीसमक्ष राख्नुभएको छ । चुनाबको तिथि स्पष्ट भए आफूले तत्कालै सरकार छाड्ने भन्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कांग्रेस र एमालेसहितका एक दर्जन बढी नेताहरुसित भित्रभित्रै वार्ता गरिसक्नुभएको छ ।
क-कसलाई भेटे प्रधानमन्त्रीले ?
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुधबार कांग्रेसका केही नेताहरुसित छलफल गर्दै आफ्नो नेतत्वमा सहमति नहुनेभए प्रचण्ड, सुशील कोइराला वा माधव नेपाल, जसलाई पनि नेतृत्व हस्तान्तरण गर्न तयार रहेको जनाऊ दिनुभएको छ । यसवीच डा. भट्टराईले कांग्रेस सभापति सुशील कोइराला र शेरबहादुर देउवालाई उहाँहरुको निवासमै गएर भेट गरिसक्नुभएको छ भने त्यसैगरी कृष्णप्रसाद सिटौला, प्रदीप गिरी, अर्जुन नरसिंह केसी, नरहरी आचार्य र गगन थापासँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
त्यसैगरी प्रधानमन्त्रीले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य, मधेसी जनआधिकार फोरमका उपेन्द्र यादव, एमालेका सुरेन्द्र पाण्डे, माधव नेपाल, केपी ओली, विष्णु पौडेल, रवीन्द्र अधिकारीसँग पनि छलफल गुर्नभएको बुझिएको छ । ओलीलाई भेट्न प्रधानमन्त्री अघिल्लो साता बालकोटस्थित ओली निवासमै पुग्नुभएको थियो ।
प्रधानमन्त्रीको प्रस्ताव
चुनावको मिति तोक्न र संवैधानिक बाधा अड्काउ फुकाउन कांग्रेस र एमालेसमेत केही समयका लागि भए पनि वर्तमान सरकारमा सहभागी हुनुपर्ने र त्यो सम्भव नभए सरकार बाहिरै बसेर सहयोग गर्नुपर्ने एमाओवादीले विपक्षीसँग प्रस्ताव राखेको बुझिएको छ । यसविषयमा राजनीतिक सहमतिका आधारमा मन्त्रीपरिषद्को सिफारिसमा संविधानको धारा १५८ प्रयोग गरेर यी कामहरु गर्नुपर्ने एमाओवादीको प्रस्ताव छ । संविधान संशोधनसम्वन्धी सबै काम सम्पन्न गर्न एकपटक मात्र धारा १५८ प्रयोग गर्नुपर्ने एमाओवादीको भनाइ रहेको एक उच्च नेता बताउँछन् ।
प्रधानमन्त्री भट्टराईले आफ्नो सरकारद्वारा चुनावको तिथि तोकेर बाधा अड्काऊ फुकाएपछि प्रचण्ड, सुसील कोइराला वा माधव नेपाललाई सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको विपक्षी नेताहरुलाई आश्वासन दिनुभएको स्रोतको कथन छ । आफैंले पहल गरे प्रचण्ड, कोइराला वा नेपाल प्रधानमन्त्री बन्न सक्ने तर पहलकदमी राष्ट्रपतिका हातमा गए सूर्यबहादुर थापाले मौका पाउनसक्ने प्रधानमन्त्रीको विश्लेषण रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
यसअघि लाजिम्पाटमा बसेको एमाओवादीको उच्चस्तरीय बैठकले लचकतासहित अन्य दलहरुसँग कुराकानी गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीलाई दिएको थियो । स्रोतका अनुसार शान्ति र संविधानको आफ्नो लाइनको रक्षा गर्न र त्यसलाई सफल पार्न प्रधानमन्त्री आफें अघि सर्नुभएको हो । विहीबार वहाँले फेसबुकमार्फत् हान्ति प्रक्रिया सफल भएमात्रै आफू सफल हुने बताउनुभएको छ ।
बाबुरामको प्राथमिकतामा प्रचण्ड
स्रोतका अनुसार प्रधानमन्त्री डा. भट्टराईले आफ्नै नेतृत्वमा चुनाव गर्ने कुारलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ भने दोस्रो प्राथमिताकमा प्रचण्डको नेतृत्वलाई राख्नुभएको छ । अन्य विकल्पमा सुसील वा माधव नेपाललाई प्रधानमन्त्री बनाउन सकिने भट्टराईको प्रस्ताव रहेको स्रोत बताउँछ । प्रधानमन्त्री भट्टराईले एमाले अध्यक्ष झलनाथ खनाल वा मधेसी मोर्चाका नेताहरुलाई पनि सरकारको नेतृत्व दिन सकिने बताउनुभएको स्रोतको कथन छ ।
एक एमाओवादी नेताका अनुसार प्रधानमन्त्रीको प्रस्ताव मान्य भएको खण्डमा वर्तमान सरकारको सम्मानजनक बर्हिगमन हुनुका साथै नयाँ संविधानसभाको निर्वाचन सुनिश्चित हुन्छ र यस्तो अवस्थामा कांगे्रसकै नेतृत्वमा चुनावमा जान सकिन्छ । तर, संविधानकोविवादित विषय अहिले नै मिल्नुपर्ने तथा त्यसका कांगे्रसले प्रतिवद्धता जनाउनुपर्ने प्रस्ताव आफूहरुले नराखेको एमाओवादी नेताहरु बताउन थालेका छन् । यसबारे दलहरुवीच दिनहुँ भित्री वार्ताहरु भैरहेका छन् र सहमति भइसकेपछि मात्रै औपचारिक वार्ता गर्ने तयारी छ ।
स्रोतअनुसार संविधान सभाको निर्वाचनको ग्यारेन्टीका लागि मात्रै एमाओवादीले केही सर्तहरु राखेको हो ।
यी विषयसँगै काँग्रेसको नेतृत्वका सरकार निर्माण भएमा महत्वपूर्ण मन्त्रालयजस्तो गृह, अर्थ आफूले पाउनुपर्ने माग माओवादीको रहेको छ । सहमति नै नभई देश दुर्घटनामा जाने अवस्था सिर्जना भएका कारण आफूले लचिलो प्रस्ताव ल्याएको एमाओवादी नेता बताउँछन् । यस विषयमा विशेषगरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा काँग्रेस महामन्त्री कृष्ण सिटौलावीच पनि कुरा भइरहेको स्रोत बताउँछ । सिटौलाले पनि सार्वजनिक रुपमा नै अनौपचारिक कुराकानी भइरहेको र सहमति निस्कने बताउँदै आउनुभएको छ । काँग्रेसलाई सत्ता सुम्पने प्रस्तावलाई भट्टराईले तेस्रो प्राथमिकतामा राख्नुभएको छ । प्रधानमन्त्री बाबुराम भट्टराई दाहाल आफ्नो अडानमा रहेमा एमाओवादी नेतृत्वको सरकारले नै निर्वाचन गराउने पक्षमा हुनुहन्छ । तर, दलहरुवीच सहमति हुन्छ भने कांग्रेस वा एमालेकै नेतृत्व मान्न पनि आफू वाधक नहुने भट्टराईले स्पष्ट पारेको स्रोत बताउँछ ।
अनलाइनखबर
0 comments
Write Down Your Responses