सत्ता छाड्नै हुन्न: दाहाल

प्रधानमन्त्री भट्टराईले दाहालको प्रतिवेदनमा आफ्नो समर्थन र साथ पाएपछि केही समयअघि चिसिने अवस्थामा पुगेको दाहाल–भट्टराई सम्बन्धमा व्यापक सुधार भएको छ । अध्यक्षको प्रतिवेदनपछि प्रधानमन्त्रीले पार्टीको पूर्ण समर्थन आफूलाई भएको बताएको उनका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए । उनका अनुसार अध्यक्षको प्रतिवेदनमा समर्थन पाएपछि प्रधानमन्त्रीले शनिबार अध्यक्ष दाहाललगायत पदाधिकारीलाई बालुवाटारमा भोज गरेका थिए । अहिलेसम्म पार्टीले गरेका प्रयासहरूमा भएको कमीकमजोरीमा आफूहरूको पनि कमजोरी रहेको अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमा समेटिएको छ । मुलुकको राजनीतिक निकासमा भएका प्रयासहरू असफल हुनुमा करिब २० प्रतिशत हिस्सा पार्टी नेतृत्वकै कमीकमजोरी भएको प्रतिवेदनमा उल्लेख छ ।
नेतृत्वमा जति लचकताको आवश्यकता थियो, त्यो प्रदर्शन हुनुको सट्टा एक हदसम्म निर्वाचनमा विजयको अहंकार एवं अपरिपक्वता देखापरेको स्विकार्दै प्रतिवेदनमा भनिएको छ, ‘त्यसको परिणाम हामीले राष्ट्रपति र सभामुख पद प्राप्त गर्ने अवसर गुमायौं, प्रधानसेनापति कटवाललाई कारबाही गर्ने स्पिरिट ठीक भए पनि सरकार जोगाउने अन्य उपाय अवलम्बन गर्न सकेनौं, सरकार, सदन र सडक सञ्चालनमा भएको यो कमजोरीले हामीलाई सबक सिकाएको छ ।’ दाहालले पेस गरेको प्रतिवेदनका अधिकांश ठाउँमा भट्टराईको तारिफ गर्दै पार्टीभित्र उनको महŒव विशेष रूपमा दर्साइएको छ ।भट्टराईको सक्रियतामा भारतसँग भएको बिप्पा सम्झौता र विचाराधीन सुपुर्दगी सन्धिका विषयमा पनि प्रतिवेदनमा घुमाउरो ढंगले समर्थन गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘पार्टीले विदेश नीति, अर्थ नीति, जलस्रोत नीति र राष्ट्रिय सुरक्षा नीति स्पष्ट गर्न नसक्दा बिप्पा र सुपुर्दगी सन्धिजस्ता विषयमा पार्टीभित्र मतान्तर देखिएको हो ।’ पालुङटार विस्तारित भेलाअघि भारतलाई प्रधान शत्रु करार गर्दै आए पनि यस पटकको राजनीतिक प्रतिवेदनमा दाहालले भारतका विषयमा केही उल्लेख गरेका छैनन् । त्यति मात्र होइन, ‘नेपाली क्रान्तिको नयाँ संश्लेषण एक ऐतिहासिक आवश्यकता’ नामक प्रतिवेदनमा प्रधान शत्रुबारे केही उल्लेख छैन । प्रधानमन्त्री भट्टराईकै सुझावमा दाहालले प्रधान शत्रु किटान गर्ने विषयमा महाधिवेशनले नै निर्णय गर्ने जनाएका छन् । दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा यसअघि भारतको चर्को विरोध गर्ने गरेका थिए । दाहालले अमेरिकालाई चाहिँ प्रतिवेदनमा साम्राज्यवादीको संज्ञा दिएका छन् ।
६५ पृष्ठ लामो प्रतिवेदन ब्युरो तथा राज्यसमिति इन्चार्जहरूलाई वितरण गरिएको छ । प्रतिवेदन गोप्य राख्ने भन्दै सबै प्रतिवेदनमा ‘कोड’ राखिएको छ । एक राज्यसमिति इन्चार्जका अनुसार महाधिवेशन आयोजक समितिको बैठकले पारित गरेपछि मंगलबारदेखि महाधिवेशन प्रतिनिधिमा पु¥याउने तयारी गरिएको छ । एमाओवादीले बहुदलीय संसदीय व्यवस्थालाई नै अँगालेको आशय प्रकट गर्दै यो व्यवस्था अँगाल्नुको कारणबारे अध्यक्ष दाहालले भनेका छन्, ‘युद्ध र चौतर्फी भण्डाफोरको सट्टा शान्ति, सहमति र सम्झौताको राजनीति, कार्यनीति अपनाउनु भनेको अगाडि बढ्ने उद्देश्यका साथ अपनाइएको पछाडि हट्ने कार्य नीति हो ।’
क्रान्तिमा विजय हासिल गर्न अघि बढ्ने र पछि हट्ने दुवै रणनीतिमा सर्वहारा फौज पारंगत हुनुपर्ने उल्लेख गर्दै आफ्नो प्रतिवेदनमा दाहालले भनेका छन्, ‘हाम्रो अहिलेको पछि हटाई व्यवस्थित नभएकाले सर्वहारा फौजमा एक हदसम्म भागदौड देखाप¥यो ।’
दाहालले प्रतिवेदनमा अहिलेको संसदीय व्यवस्थालाई उपयोग गर्दै अझै यसरी नै अघि बढ्ने स्पष्ट संकेत गरेका छन् । ‘पेरिस कम्युनको असफलतापछिको लामो प्रतिक्रान्तिकालमा सर्वहारा क्रान्तिको तयारीका लागि बुर्जुवा संसदीय जनवादको समेत उपयोग गर्ने कुरामा पनि माक्र्स–एंगेल्सको स्पष्ट धारणा थियो,’ दाहालको प्रतिवेदनमा उल्लेख छ । दाहालको प्रतिवेदनले पार्टी फुट्नुमा संकीर्णता र जडसूत्रवादी हावी भएको उल्लेख गरेका छन् । प्रतिवेदनको पृष्ठ ३१ मा कमल थापा नेतृत्वको राजावादी राप्रपा र वैद्य नेतृत्वमा नेकपा–माओवादीलाई एउटै प्रकृतिको भन्दै आलोचना गरिएको छ ।
‘कमल थापा नेतृत्वको राजावादी र किरण नेतृत्वको जडसूत्रवादी संशोधनवादी समूहको सम्पूर्ण सुरताल एउटै देखापर्नु संयोग मात्रै नभएर किरणहरूको संकीर्णता र विचलनको उपज हो,’ प्रतिवेदनमा भनिएको छ, ‘यान्त्रिक, जडसूत्रवादी, संकीर्णवाम लफ्फाजीको कोणबाट युगान्तकारी महŒवको राजनीतिक परिवर्तनलाई अपमान र अस्वीकार गरेर अन्ततः दक्षिणपन्थी शक्तिहरूलाई मलजल गर्ने काम गरिरहेको छ, यस कामका लागि हाम्रो पार्टीबाट अलग्गिएका संशोधनवादी र जडसूत्रवादीहरू सक्रिय छन् ।’
पार्टी विभाजन हुनुको कारणबारे उल्लेख गर्दै आफ्नो राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले भनेका छन्, ‘पार्टीमा बढ्दै गएको गुटबन्दी, व्यक्तिवादी अराजकता, आर्थिक अनियमितता, अपारदर्शिता, दबाब र धम्कीद्वारा पद, प्रतिष्ठा र लाभ प्राप्त गर्न बढ्दो दौडधुप र अस्तव्यस्तताको अन्त्य गर्दै कारबाही गर्दै जानुको सट्टा एकता बचाउने धुन र जनवादी अभ्यास गरेर पार्टी विरोधी क्रियाकलापलाई मान्यता दिने जुन काम गरियो त्यसले पार्टीलाई विभाजन गरायो ।’
0 comments
Write Down Your Responses