डिआइजी कोइरालालाई सर्वश्वसहित जन्मकैदको फैसला

काठमाडौं, ७ वैशाख । आफ्नै पत्नीको हत्या गर्ने सशस्त्र प्रहरीका नायब महानिरीक्षक रञ्जनप्रसाद कोइरालालाई काठमाडौं जिल्ला अदालतले सर्वश्वसहित जन्मकैद गर्ने फैसला गरेको छ ।
उक्त अदालतका न्यायाधीश मोहम्मद जुनैद आजादको इजलाशले मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३ (३) बमोजिम सो सजाय सुनाएको हो । सो हत्याकाण्डमा मतियारकी रूपमा रहेकी कोइरालाकी प्रेमिका तारा रेग्मीलाई भने एक वर्ष कैद सजायको फैसला सुनाएको अदालतको श्रेस्तेदार नारायण रेग्मीले जानकारी दिनुभयो ।
तीन वर्षअघि बुढानीलकण्ठस्थित आफ्नै घरमा रहेकी पत्नी गीता ढकाल कोइरालालाई हत्या गरी मकवानपुरको टिस्टुङ गाविसमा लगेर डिआइजी कोइरालाले जलाएका थिए । पत्नीको लाश जलाएर फर्केपछि अपराधका प्रमाण छाडिएका छन् कि भनी फर्केर हेर्न जाँदा स्थानीय बासिन्दाले आशङ्का लागी प्रहरीमा खवर गरेका थिए ।
मृतक गीताका बाबु हरेराम ढकालले आफ्नो छोरीलाई २०६८ पुस २८ मा हत्या गरी लाशसमेत बेपत्ता बनाउने दुष्प्रयास गरेका भन्दै ज्वाइँ कोइरालाविरुद्ध किटानीसहित जाहेरी दरखास्त दिनुभएको थियो । कोइराला हाल डिल्लीबजारस्थित सदरखोरमा छन् भने उनका प्रेमिका रेग्मी फरार छिन् ।
मुद्दा दायर भएपछि डिआइजी कोइरालालाई काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि थुनामा राखेको थियो भने प्रेमिका रेग्मीलाई रु एक लाख धरौटी लिई तारेखमा छाडेको थियो ।
रेग्मीलाई जमानीमा नछाड्न पुनरावेदन अदालत पाटनले आदेश दिएपछि उनी फरार भएकी थिइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.