खोटाङ, ८ वैशाख फोहोरमैलाको कारण दुर्लभ रातो माछा मासिने अवस्थामा

खोटाङ, ८ वैशाख । फोहोरमैलाको कारण खोटाङको बराहपोखरीमा रहेको रातो माछा मासिन थालेका छन् । स्थानीयवासीले पोखरीमा नुहाउने र लुगा धुने गरेका कारण जिल्लाकै पर्यटकीयस्थल बराहपोखरीको रातो
माछा मासिन थालेका हुन् ।
बढ्दो फोहोरमैला र साबुनको असरका कारण बराहपोखरी गाविसस्थित पोखरीमा पाइने संसारकै दुर्लभ रातो माछा लोप हुँदै गएको स्थानीय जुक्तिराम राईले बताउनुभयो । जलवायु परिवर्तन र बढ्दो तापक्रमको असरका कारण पनि बराहपोखरीको रातो माछा हराउन थालेको स्थानीयवासीले बताएका छन् ।
बथानका–बथानमा आउने पानी हाँसले माछा खाने गरेको र हाँसको चोटका कारण पनि माछा मरेको भेटिएको राईले जानकारी दिनुभयो । महिनामा करिब चार÷पाँच सय मरेका माछा पोखरीमा तैरिरहेका भेटिने गरेको राईको भनाइ छ ।
दुर्लभ रातो माछा संरक्षणका लागि स्थानीय केटाकेटीले गुलेली प्रयोग गरी हाँस धपाउने प्रयास गरे पनि पर्याप्त हुन सकेको छैन । चारैतिर पहाड र बीचको उपत्यकामा रहेको पोखरीमा टाढाबाटै राताम्य माछा खेलिरहेको देख्न सकिन्छ । ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ रहेको पोखरीमा बाह्रै मास टम्म पानी हुनु पोखरीको विशेषता हो । पोखरीको पानी एक किलोमिटर तल रहेको सुरुङबाट निकास हुने गरेको स्थानीयवासीको भनाइ छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.