मलेसियामा कामदारको मासिक तलब बढ्यो

१९ पुस, कुलालुम्पुर। मलेसियामा कार्यरत नेपाली कामदारको मासिक तलब न्यूनतम २६ हजार रुपैयाँ (९ सय रिंगिट) भएको छ। मलेसियाली सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरी मंगलबार (जनवरी १) बाट कार्यान्वयनमा ल्याएको हो। यो निर्णयले मलेसियामा वैध रुपमा कार्यरत चार लाखभन्दा बढी नेपाली कामदारलाई पनि राहत मिल्नेछ। संशोधित निर्देशिका कार्यान्वयनबाट त्यहाँ कार्यरत नेपाली कामदारको मासिक तलब कम्तीमा १० हजार रुपैयाँ बढेको छ।

‘मलेसियाली सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक निर्देशिका संशोधन गरी कार्यान्वयनमा ल्याएको छ, ‘कामदारको न्यूनतम मासिक तलब ९ सय मलेसियन रिंगिट निर्धारण गरिएको छ। संशोधित निर्देशिका मंगलबारबाट कार्यान्वयनमा आएको छ।'

मलेसियाको मानव संशाधन मन्त्रालयले गत शुक्रबार (पुस १३ गते) आप्रवासी कामदारसम्बन्धी न्यूनतम पारिश्रमिक निर्देशिका संशोधन गर्दै मासिक तलब ९ सय रिंगिट तोकेको थियो। निर्देशिकालाई मलेसियाको सवाहा र सरावक स्थानबाहेकका क्षेत्रमा मंगलबारबाट कार्यान्वयनमा ल्याइएको छ भने ती क्षेत्रमा २०७० जेठ १८ गतेबाट लागू हुने जनाइएको छ। सवाह र सरावक क्षेत्रमा काम गर्ने आप्रवासी कामदारको मासिक न्यूनतम पारिश्रमिक भने ८ सय रिंगिट (झन्डै २३ हजार रुपैयाँ) मात्र निर्धारण गरिएको छ। यसअघि, मलेसियामा काम गर्ने आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक मासिक ५ सय ४६ (झन्डै १६ हजार रुपैयाँ) तोकिएको थियो।

ढकालका अनुसार नयाँ नियुक्त हुने कामदारको सुरुका छ महिनालाई परीक्षण अवधिका रुपमा हेरिनेछ। यो अवधिमा कामदारलाई निर्धारण गरेको तलबमा ३० प्रतिशत घटाएर दिइनेछ। यो कानुन सवाह र सरावक क्षेत्रमा काम गर्ने नेपाली तथा अन्य आप्रवासी कामदारलाई पनि लागू हुने जनाइएको छ। यस्तै, पाँचजनाभन्दा कम कामदार रहेका कम्पनीले आगामी जेठ १८ बाट निर्देशिका कार्यान्वयनमा ल्याउने छुट पाएका छन्।
संशोधत निर्देशिकामा आप्रवासी कामदारलाई सामान्य र व्यावसायिक गरी दुई समूहमा वर्गीकरण गरिएको छ। मासिक २ हजार रिंगिटसम्म तलब पाउनेलाई सामान्य र २ हजार रिंगिटभन्दा बढी तलब पाउनेलाई व्यावसायिक कामदार भनिएको छ।

‘न्यूनतम पारिश्रमिक निर्देशिका प्रभावकारी रुपमा लागू हुनेछ,' श्रम सहचारी ढकालले भने, ‘नयाँ नियम कार्यान्वयनमा आएपछि नेपाली कामदारको तलब बढ्ने भएकाले रेमिटेन्समा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरेका छौं।'

हालसम्म वैदेशिक रोजगारमा जानेमध्ये सबैभन्दा बढी नेपाली मलेसिया गएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार २०५० सालदेखि आर्थिक वर्ष ०६८/६९ सम्म २४ लाख ६५ हजार ६ सय ९९ जना नेपाली वैदेशिक रोजगारमा विभिन्न देश पुगेका छन्। यीमध्ये सबैभन्दा बढी ७ लाख ७३ हजार ९ सय ४० जना मलेसिया गएका छन्। हाल अवैधानिक तरिकाले काम गरेका समेत जोड्दा मलेसियामा ५ लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान छ।

अघिल्लो वर्ष श्रम स्वीकृति लिई वैधानिक रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या ३ लाख ८४ हजार ६ सय ६५ थियो। यीमध्ये सबैभन्दा बढी कतारमा र दोस्रो ठूलो संख्या मलेसिया गएकाको हो।
आर्थिक वर्ष ०६८/६९ मा मात्र संस्थागत र व्यक्तिगत रुपमा श्रम स्वीकृति लिई मलेसिया जानेको संख्या एक लाख ५ हजार ९ सय ६ छ। विभागका अनुसार आर्थिक वर्ष ०६९/७० का पाँच महिना (मंसिरसम्म) मा २ लाख ६९ हजार ७ सय ७९ जनाले वैदेशिक रोजगारका लागि पूर्व श्रमस्वीकृति लिइसकेका छन्, जसमध्ये मलेसियाका लागि मात्र ६३ हजार २ सय ३३ छन्। श्रम स्वीकृत लिई नेपाली कामदार आर्थिक वर्ष ०५४/५५ बाट मलेसिया जान थालेका हुन्। पहिलो वर्ष जम्मा ८९ जना नेपाली कामदार मलेसिया गएका थिए।

0 comments

Write Down Your Responses

Powered by Blogger.