कांग्रेस-एमालेसँगको सबै सम्झौता च्याच्ने प्रचण्डको चेतावनी

६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमालेसँग भएको सबै सम्झौता च्यात्ने चेतावनी दिनु भएको छ । शान्तिपूर्ण रुपमा परिर्वतनलाई संस्थागत गर्न खोन्दा आफूहरुलाई घेरावन्दीमा पारेको भन्दै उहाँले अहिलेसम्म भएका सबै सम्झौता च्यातिदिने चेतावनी दिनुभयो । ‘हामीले शान्तिपूर्ण ढंगले सहमतिकै बाटोबाट परिर्वतन संस्थागत होस भनेर चाहेका छौं । हामी फेरि निर्वाचनमा जान तयार छौं । आगामी वैशाख जेठमा निर्वाचन होस्, त्यहाँबाट हामी अगाडी जान तयार छौं’ एमाओवादी कास्की जिल्ला अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’यदि हामीलाई त्यसो गर्न दिइदैंन भने उनीहरुसँग गरिएका सबै सम्झौताका कागजहरु च्यातिने छन् ।’

तत्काल सहमति गरेर चुनावी प्रक्रिया अघि बढाउन आफूहरु तयार रहेको भन्दै उहाँले कांग्रेस, एमाले र राष्ट्रपतिले नै चुनाव हुन नदिएको आरोप लगाउनु भयो । ‘निर्वाचनका निम्ति कानुन बनाउन कसले दिएन ? माओवादीले हो ? विल्कुल हैन’ उहाँले भन्नुभयो-’कांग्रेस, एमाले र राष्ट्रपति जी । अध्यादेश गएर राष्ट्रपतिकोमा बस्छ । कांग्रेस र एमालेले राष्ट्रपतिलाई भन्यो खबरदार त्यो अध्यादेश पार गर्लास भन्छन् । अध्यादेश जारी होस्, भोलि नै निर्वाचन प्रक्रिया अघि बढाउन हामीलाई केही आपत्ति छैन ।’ एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी फुटाएर मोहन बैद्य किरणले विदेशी हस्तक्षेपको बाटो खुला गरेको आरोप लगाउनु भयो ।

एमाओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालका घटनाको जिम्मेवारी कांग्रेस र एमालेले लिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’द्वन्द्वकालमा तपाईहरु नै सत्तामा हुनुहुन्थ्यो । १५ हजारभन्दा बढी मारिए, हजार भन्दा बढी वेपत्ता भए । त्यसको निम्ति जिम्मेवार को हुन्छ ? तपाईहरुले जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? ‘ १३ हजारभन्दा बढी राज्य पक्षबाटै मारिएको भन्दै उहाँले सिसाको घरमा बसेर अरुको घरमा ढुंगा नहान्न कांग्रेस-एमालेलाई आग्रह गर्नु भयो ।

अर्को उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले विपक्षी दलहरुले आन्दोलन घोषणा गरेर मुलुकलाई मुठभेडमा लगेको आरोप लगाउनु भयो ।
 श्रोत: अनलाइन खबर

0 comments

Write Down Your Responses

Powered by Blogger.