दीर्घकालीन जनआन्दोलनको पक्षमा कांग्रेस, एमाले

७ माघ, काठमाठौं । विपक्षी दलहरु शनिबारबाट आन्दोलनमा उत्रिएका छन् । अब बाबुराम सरकारको आयु कति दिन, महिना वा कति वर्षसम्म रहला ? यसबारेमा विपक्षी दलभित्र एकरुप बुझाइ छैन । कसैले यो सरकार दुईवर्षदेखि पाँचवर्षसम्म टिक्ने अनुमान गरेका छन् भने कसैले एक वर्ष त कसैले एकमहिनामा ढल्ने दाबी गरेका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न तत्कालै नसकिने र केही वर्षसम्मै लड्नुपर्ने निश्कर्षमा कांग्रेस र एमालेका केही नेताहरु पुगेका छन् । सरकार सहमतिमा आउन नमानेको र सत्ता कब्जाको रणनीति बनाएको भन्दै एमाले र कांग्रेसको शीर्ष तहमा लोकतन्त्रको लडाइँ केही महिनामात्र नभई केही वर्षसम्मै लड्नुपर्ने विषयमा समेत छलफल हुन थालेको स्रोत बताउँछ ।

‘विपक्षी दलहरुले थालेको यो आन्दोलन सफल हुन घटीमा दुईवर्ष र बढीमा ५ वर्ष लाग्छ ।’ एमाले नेता प्रदीप नेपालले अनलाइनखबरसँगको अन्तरवार्तामा भन्नुभएको छ ।

यही वर्ष ढालिन्छ- केसी
आइतबार तेह्रथुमबाट संखुवासभातिर लाग्नुभएका कांग्रेस नेता अर्जुन नरसिंह केसीको तर्क छ-’हामीले शनिबारबाट आन्दोलन थालेका छौं, ढीलो होला तर लोतन्त्रवादीहरु कहिल्यै हार्दैनन्, सर्वसत्तावादीहरु नै हार्छन् । जन दबावलाई प्रभावकारी बनाउन सकियो भने यही वर्ष सरकार ढाल्न सकिन्छ ।’ केसी भन्नुहुन्छ- ‘यो सरकार जुन ढंगले अगाडि बढिरहेको छ, यसले न सत्ता छाड्छ, न चुनाव गर्छ, न त सहमति नै गर्छ । राज्यका सबै अवयवहरुलाई ध्वस्त पारेर एमाओवादी सत्ता कब्जा गर्ने रणनीतिमा लागेको छ ।’

पुनस्र्थापना गरे अहिल्यै ढल्छ- अधिकारी
एमाले युवा नेता रवीन्द्र अधिकारी अब कुनै एउटा पक्ष नथाकी सहमति नहुने बताउनुहुन्छ । ‘बाह्रबँुदेपछि अर्को श्रृंखला शुरु भएको छ, एउटाले अर्कालाई हराउन र गलाउन सकिन्छ भन्ने ठानेका छन् । कोही पनि सजिलै थाक्ने देखिन्न, त्यसैले गल्न र सहमतिमा आउन केही समय लाग्न सक्छ । कुनै एउटापक्ष कमजोर नभई सम्झौता हुँदैन ।’ अधिकारीको भनाइ छ- ‘राष्ट्रपतिले पनि सरकार बनाउन सक्नुभएन, यसैबाट थाहा हुन्छ कि सजिलै कुनै पक्ष थाक्ने देखिन्न ।’ तर, नेताहरुको बुद्धि फिर्यो भने संविधानसभा पुनस्र्थापना गरेर अहिल्यै समस्या समाधान गर्न सकिने उहाँको विश्लेषण छ । ‘आन्दोलनमा जाने हो भने समय लाग्न सक्छ, तर त्यतिबेलासम्म देश नै कहाँ पुग्ने हो, केही भन्न सकिँदैन ।’-अधिकारीले अनलाइनखबरसँग भन्नुभयो ।

चैतमा सरकार ढाल्न सकिन्छ-मैनाली
एमाले र कांग्रेसभित्र दीर्घकालीन जनआन्दोबारे बहस चलिरहेका बेला नेकपा मालेका महासचिव सीपी मैनालीले भने आगामी चैत्रमा बाबुराम सरकार ढाल्ने दाबी गर्नुभयो । ‘अहिले त हामीले खास आन्दोलन घोषणा गरेकै छैनौं, सरकारको विरोध कार्यक्रममात्रै सार्वजनिक गरिएको हो । माघपछि साँच्चैको जनआन्दोलन घोषणा हुन्छ र चैत्रसम्म यो सरकार ढल्छ ।’-मैनालीले भन्नुभयो ।
 श्रोत:  अनलाइनखबर

0 comments

Write Down Your Responses

Powered by Blogger.