मलेसियामा करिव १ सय नेपाली कामदार पक्राउ

४  चैत, क्वालालम्पुर । मलेसियाको मुआरमा करिव एक सय नेपाली श्रमिक पक्राउ परेका छन् । साप्ताहिक आइतबारे बिदाको दिन कम्पनीबाट बाहिर निस्किएर साथीहरुसँग भेटघाट गरिरहेका बेला स्थानीय प्रहरीले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

मलेसियाको दैनिक पत्रिका द स्टारको अनलाइन संस्करणका अनुसार न्यूनतम तलव नपाएको बिरोधमा प्रर्दशन गर्ने तयारी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।

मुआरका सहायक प्रहरी कमाण्डर मोहम्मद नासिर राम्लीले भने- ‘कामदारहरु रोजगारदाताविरुद्ध प्रर्दशनको तयारी गर्न बिभिन्न स्थानमा भेला भएका थिए, उनीहरु एकै ठाउँमा जम्मा हुनुअघि नै सूचनाका आधारमा हामीले समातेका हौं ।’ मुआर क्षेत्रमै करिव ५ हजार नेपाली कामदार कार्यरत रहेको भन्दै उनले मलेसियामा सार्वजनिक स्थानमा जुलुस निकाल्नु गैरकानुनी रहेकाले पक्राउ गरिएको दाबी गरे ।

तर, मुआरमा रहेका नेपालीहरु भने प्रर्दशनको कुनै तयारी नभएको बताउँछन् । ‘साप्ताहिक बिदाको दिन नेपाली रेष्टुरेण्टमा गएर साथीहरुसँग भेटघाट गर्ने क्रममा पुलिसले पक्रिएको हो, बाहिर गएर प्रर्दशन गर्ने कुनै योजना थिएन ।’ बिभिन्न कम्पनीमा कार्यरत उनीहरुमध्ये केहीलाई साँझ छाडिएको छ भने केही अझै प्रहरी नियन्त्रणमै छन् । अघिल्लो साता पनि मलेसियन प्रहरीले एउटा फर्निचर कम्पनीबाट ३२ जना नेपाली कामदारलाई पक्राउ गरेको थियो ।

मलेसिया सरकारले जनवरी १ देखि नै लागू हुने गरी मासिक ९ सय रिंगेट न्यूनतम तलव दिनुपर्ने नयाँ नियम ल्याएपछि त्यहाँ कामदार र रोजगारदातावीच विवाद बढ्न थालेको छ । । नीतिगतरुपमै बिभिन्न छिद्रहरु खडा गरिदिएर रोजगारदातालाई न्यूनतम तलव कार्यान्वयन नगर्न मलेसियन सरकारले कम्पनीहरुलाई बाटो खोलिदिएपछि त्यहाँ कार्यरत बिदेशी श्रमिक आक्रोशित भएका छन् । सरकारको दोधारे नीतिका कारण तलव बढ्नुको साटो खाइपाई आएको भन्दा घट्न थालेपछि बिभिन्न कम्पनीमा कार्यरत कामदार आन्दोलित भएका हुन् ।

मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले घोषित न्यूनतम तलव नपाउँदा निकै समस्या बढेको बताउनुभयो । तर, आन्दोलन नगर्न र वार्ताबाटै समस्या समाधानको पहल गर्न नेपाली श्रमिकहरुलाई दूताबासले आग्रह गरिरहेको भट्टराईले अनलाइनखबरलाई बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.