गठबन्धनमा घोषणापत्रको विषयमा विवाद
काठमाडौं, ६ चैत (ओएनएस) : संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनमा आवद्व दलहरुले आगामी संविधानसभा चुनावका लागि साझा घोषणापत्र बनाई तालमेलका आधारमा उम्मेदवार उठाउने भएका छन् । घोषणापत्र एउटै बनाउने विषयमा गठबन्धनमा सहमति भए पनि घोषणापत्रमा राख्ने मुद्दामा भने विवाद देखिएको छ ।
घोषणापत्र कस्तो बनाउने र कसका कुरालाई बढी समावेश गर्ने भन्ने विषयमा सचिवालयमा छलफल भैरहेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले ओएनएसलाई बताए । उनले भने, “हामीले चुनावका लागि साझा घोषणापत्र बनाउने सहमति गरेका छौं । घोषणापत्र कस्तो बनाउने र कसका कुरालाई बढी राख्ने भन्ने विषयमा छलफल भैरहेको छ ।”
गठबन्धनमा आवद्व दलहरुका बीचमा घोषणापत्रमा माओवादीको एजेण्डालाई मात्रै समावेश गर्ने की अरुका एजेण्डा समावेश गर्ने भन्नेमा विवाद रहेको स्रोतले जनाएको छ । ठुलो पार्टी भएका कारण माओवादीको एजेण्डालाई बोक्नु पर्ने भएपछि अरु पार्टीले असन्तुष्टि जनाएको स्रोतको दावी छ ।
श्रोतले भन्यो, “मधेसका मुद्दालाई कसरी समावेश गर्ने भन्नेमा सहमति भैसकेको छैन । मेधेसीहरु एक मधेस एक प्रदेशको अडानमा छन् एमाओवादीले त्यही कुरा समावेश गर्ने वा नगर्ने भन्नेमा निर्णय गरिसकेको छैन ।”
................................................................
गठबन्धनको बैठक अपरान्ह सम्मका लागि स्थगित
चुनावी रणनीतिका विषयमा छलफल गर्न संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक सुरु भएको छ । गठबन्धनका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको गठबन्धनको सचिवालयको बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।
आगामी असारको पहिलो सातामा हुने भनिएको संविधानसभाको निर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने विषयमा छलफल गर्न बैठक बसेको हो । गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बैठक जारी रहेको तर केहीबेरका लागि स्थगित भएको बताएका छन् ।
बैठकमा संविधानसभा चुनावसम्म गठबन्धनलाई कायम राख्ने र त्यसको रणनीति तय गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता सिंहको भनाइ छ । विहानको बैठकमा गठबन्धन दलका सदस्यहरुले आ–आफ्ना धारणा राखेका छन् ।
अपरान्ह ४ बजेको बैठकले गठबन्धनको निरन्तरता तथा चुनावी रणनीतिको विषयमा ठोस धारणा तय गर्ने प्रवक्ता सिंहले बताए । संविधानसभाको चुनाव घोषणा भइसकेको र मिति तय गर्न मात्र बाँकी रहेको अवस्थामा चुनावको रणनीतिकै विषयमा छलफल केन्द्रित रहेको सिंहको भनाइ छ ।
सिंहका अनुसार गठबन्धनको सचिवालयले तय गरेका कार्यक्रमलाई गठबन्धनको पूर्ण बैठक बसि अनुमोदन गरिनेछ ।
0 comments
Write Down Your Responses