फोटो खिच्न पैसा नहुँदा नेपाली बन्न पाएनन् एक सोलुका महिलाले

लोखिम ८ सोलुखुम्बुकी ७८ बर्षीया लालमाया तामाङको हातमा अझसम्म नेपाली नागरिकताको प्रमाणपत्र छैन । उनको मात्र होइन ५० बर्षकी छोरी तुलामायालाई पनि उनले नागरिकता दिलाउन सकेकी छैनन् । नागरिकता नलिएका यी आमा छोरीले मात्र होइन, उनको घरपरिवारले नै पुस्तौपुस्तादेखि नेपाली नागरिकता बनाएका छैनन् । पुराना पुस्ताले यसको महत्व नबुझेर नागरिकता नबनाएको भएपनि अहिलेका पुस्ताले भने
फोटो खिच्ने पैसा नभएका कारण नेपाली नागरिकता बनाउन नसकेका हुन् । गाउँमा घुम्ती शिवीर आउँदा समेत नागरिकता बनाउन नसकेको सो परिवार राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट पनि बञ्चित छन् । नागरिकता नहुँदा बृद्धा भईसकेका लालमायाले राज्यबाट पाउनुपर्ने सामाजिक सुरक्षा बापतको भत्ता पनि पाएका छैनन् भने उनकी अपाङगता भएको छोरीले पनि कुनै सुविधा पाएका छैनन् ।
त्यसो त उनको श्रीमान्को पनि नागरिकता थिएन । डेढ बर्षकी छोरी तुलामायालाई छाडी राखेर बेपत्ता भएका श्रीमान छोरी पचास बर्षको भईसक्दा पनि घर फर्केका छैनन् । श्रीमान बेपत्ता भएपछि आर्थिक स्रोत टुटेको लालमायाको आमाछोरीलाई विहान खाए बेलुकी के खाऊ भन्ने छ । जग्गा जमीनको नाममा एकचिम्टी माटो समेत नभएकी लालमाया भाईबुहारीले दिएको सानो बारीमा छाप्रो बनाएर बसेका छन् । 
बल्ल नागरिकताको महत्व बुझेकी लालमायासँग यत्तिबेला जिल्ला सदरमुकामसम्म पुगेर नागरिकता बनाउने हैसियत पनि छैन । लालमाया भन्छिन् ‘पहिले घुम्तीटोली आउँदा फोटो खिच्ने पैसा थिएन र बनाइन, मर्ने बेला के को काम भनेर खासै वास्ता पनि गरिएन, अहिले पो थाहा पाएँ, नागरिक भए भत्ता पाईने रहेछ ।’ सरकारले दिने भत्तामा लोभिएका उनी भन्छिन् ‘अहिले सदरमुकामसम्म लगिदिने मान्छे पनि छैन, कसको भर परेर जानु ? कसरी बनाउनु ? मेरो भन्नु कोही छैन ।’ आँखामा आँशु टिल्पिलाउँदै उनले भनिन् । 
लालमायाको टेक्ने लौरो वा समाउने डाली जे भने पनि उनकी भाई बुहारी छन् । उनका भाई समेत सुस्त श्रवण भएपछि लालमायाले भाईबुहारीलाई नै भरोसाको आधार मान्दै आएकी छन् तर गाउँमै टोली नआएसम्म अझै पनि लालमायाको परिवारले नागरिकता पाउँने छाँटकाँट छैन । लालमायाकी भाइबुहारी चन्द्रमाया तामाङ भन्छिन् ‘टोली आउने बेला बनाउन सकिएन, श्रीमान् कान सुन्नुहुन्न, अब मैले के गर्न सक्छु र ? यदि पहिले जस्तै टोली आयो भने बनाईदिउँला, नत्र सल्लेरीसम्म लैजानका लागि त बोकेरै लैजान, ल्याउन धेरै खर्च लाग्छ, त्यो हामीसँग छैन ।’ 
लोखिमबाट सल्लेरीसम्म मानिसलाई बोकेर लैजानका लागि करीब दुईदिनको पैदल यात्रा गर्नुपर्छ । आफू जन्मेको देशको नागरिकता पाउने हरेक सार्वभौम नागरिकको जन्मसिद्ध अधिकार हो । तर लालमायाको परिवारले नेपाली नागरिकता नपाएका मात्र होइनन् उनीहरु दुवैजना अपांग र जेष्ठ नागरिक भएर पनि राज्यबाट पाउने सुविधाबाट पनि बञ्चित भएका छन् । नागरिकताको अभावमा सेवाबाट बञ्चित यी गरीब परिवारलाई राज्यले बैकल्पिक व्यवस्था मिलाएर भएपनि सामाजिक सुरक्षा प्रदान गर्न अपरिहार्य भईसकेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.