होटलमा बास बस्न परिचयपत्र अनिवार्य

रुपन्देही  । होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीले होटलमा बास बस्न आउने पाहुनालाई अनिवार्य रुपमा परिचयपत्र लागु गर्ने निर्णय गरेको छ। सङ्घको आयोजनमा प्रहरीसागको अन्तरक्रिया कार्यक्रममा संघले होटलबाट हुने अपराध न्युनीकरण र व्यवसायिक सुरक्षाका लागि आगन्तुक पाहुनालाई अनिवार्य परिचयपत्र लागु गर्ने सहमति गरेको हो। होटलमा बास बस्न आउने पाहुनासाग उसको परिचय खुल्नेगरी परिचयपत्र वा निजको वास्तविक जानकारी हुनेगरी आगन्तुक पुस्तिकामा इन्ट्री गर्नुपर्ने निर्णय सङ्घले
गरेको छ।
त्यस्तै, सुरक्षित बुटवल बनाउन व्यबसायिक आचारसंहिता कडाईका साथ लागु गर्ने, व्यवसायिक अनुगमनलाई पूर्णरुपमा पालना गराउन अनुगमनलाई प्रभावकारी बनाउने, होटल तथा रेष्टुरेन्टमा काम गर्ने कर्मचारीको हकमा तीन महिनासम्म मालिकले निजको जिम्मेवारी लिने त्यसपछि ६ महिना पुगेपछि सङ्घले परिचयपत्र उपलब्ध गराउने पनि निर्णय सङ्घले गरेको छ। पेशा व्यवसाय गर्ने नाममा गलत गरेका व्यवसायीहरूलाई सङ्घको सहयोगमा प्रहरीलाई कारवाहीका लागी अनुरोध गर्ने र सङ्घले समेतसंस्थाबाट कारवाही गर्ने निर्णय सङ्घले गरेको छ। कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले सङ्घले गरेका निर्णयलाई व्यवहारमा कार्यान्वयन गरेमा बुटवलको अपराध नियन्त्रणमा योगदान पुग्ने विश्वास व्यक्त गरे। प्रहरीको उद्देश्य व्यवसायीलाई निरुत्साही गर्ने नभई व्यवसायीको व्यबसायलाई प्रवर्द्धन गर्ने हो भन्दै उनले प्रहरी र होटल व्यबसायीबिच समन्वय जरुरी रहेको धारणा राखे। सङ्घका अध्यक्ष महेन्द्र श्रेष्ठको सभापत्विमा भएको कार्यक्रममा महासचिव समुन्द्र जिसी, प्रेस सल्लाहकार यमलाल भुसाल, उपाध्यक्ष केशवराज ज्ञवाली, व्यवसायी बाबुराम गौतम, रामप्रसाद गौतम, नन्दलाल पोखरेल, रेशम थापा, प्रेम भट्टराई, अर्जुन थापा, उमानाथ घिमिरे, प्रेम बन्जाडे, रोमाकान्त चापागाईं र नेमा लामाले व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराएका थिए।
– चन्द्रकान्त खनाल

0 comments

Write Down Your Responses

Powered by Blogger.