गाईको दूध बाच्छालाई, आमाको दूध बच्चालाई !

'गरीबले नसकेर खुवाउँदैनन्, धनीले सकेर'
  १७ साउन, काठमाडौं । बच्चा जन्मेको केही दिनसम्म त आमाले आफ्नो दूध चुसाउँछिन् । जब सुत्केरी महिला तंग्रेर हिँडडूल गर्न सक्छिन्, त्यसपछि कामधन्दाको चटारो शुरु हुन्छ । बिहान एकदुई पटक बच्चालाई दूध चुसाएपछि उनी घरबाहिर निस्किन्छन् । गाउँको हो भने घाँसपात र मेलापात जानुपर्छ । शहरमा हो भने कार्यालय र अरु कामधन्दामा । छिनछिनमा आमाको दूध चुस्नुपर्ने बच्चाले बिहान एकछिन काखमा बसेपछि एकैपटक बेलुका मात्र आमाको अनुहार देख्न पाउँछ । दिनभर घरका अरु सदस्यले गाईभैंसीको दूध या अरु खानेकुरा खुवाउँछन् ।
‘स्तनपान गराउनुपर्छ भन्ने सचेतना त बढेको छ, तर प्रवृत्ति उस्तै छ’ बालरोग विशेषण डा. अरुणा उप्रेतीले अनलाइनखबरसित भन्नुभयो-’गरीब महिलाले ज्यालामजदूरी र अरु कामधन्दाले पूर्ण स्तनपान गराउन सकेका छैनन्, शहरबजारका धनी महिलाले चाहिँ विज्ञापन देखेर बोतलको दूध तथा अरु खाद्यपदार्थमा भर परेर पूर्ण स्तनपान गराउँदैनन् ।’
कतिपय महिलाले आफ्नो शारिरीक सौन्दर्य बिग्रन्छ भनेर पनि स्तनपान गराउन हिच्किचाउँछन् । पछिल्लो तथ्याँक अनुसार जम्मा दुई प्रतिशत नेपाली आमाले मात्र आफ्ना बच्चालाई पूर्ण स्तनपान गराउने गरेका छन् । ‘पूर्ण स्तनपान गराउनुपर्छ भन्ने जनचेतना अझै फैलाउन आवश्यक छ’ उप्रेतीले भन्नुभयो । गाईभैंसी र बोतलको दूधमा भर पर्ने प्रवृत्ति बढ्दै जाँदा बाल विशेषज्ञहरुले आकर्षक नारा समेत बनाएका छन्-’गाईको दूध बाच्छालाई, आमाको दूध बच्चालाई ।’
‘६ महिनासम्म बच्चालाई आमाको दूध मात्र दिनुपर्छ, गाईभैंसी र बोतलको होइन’ डा. उप्रेतीले भन्नुभयो ।
स्तनपान किन ?
स्तनपानको महत्व र यसप्रतिको जागरुकता बढाउन हरेक वर्ष विश्वभर स्तनपान सप्ताह मनाइन्छ । यसवर्ष पनि बिहीबारदेखि सप्ताह शुरु भएको छ । बच्चालाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको विकास छिटो हुने डाक्टरहरु बताउँछन् । ६ महिना सम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाईने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटक सम्म आमाको दूध खुवाउनुपर्ने हुन्छ ।
आमाको दूधको महत्वबारे चिकित्सकहरु यसो भन्छन् :
· आमाको दूधमा जन्मेदेखि ६ महिनासम्मका शिशुहरुको शारिरीक एवं मानसिक वृद्धि र विकासका लागि आवश्यक पर्ने सम्पूर्ण तत्वहरुले भरिपूर्ण हुन्छ । तसर्थ ६ महिनासम्म शिशुलाई आमाको दूध बाहेक अरु कुनै पनि चिजहरु खुवाउनु पर्दैन ।
· आमाको दूध सधैं तयारी अवस्थामा पाइन्छ । शिशुले चाहेको बेलामा जहिले र जहाँ पनि खुवाउन सकिन्छ ।

· आमाको दूध शिशुका लागि पहिलो खोप हो । यसमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्व हुन्छ ।

· शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो पहेंलो दूध बिगौतीमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ, जसले हानिकारक र संक्रात्मक जीवाणु र किटाणुलाई नष्ट पारी शिशुलाई संक्रामक रोगहरु लाग्नबाट बचाउँछ । आमाको दूध खान पाएका शिशुहरु झाडापखाला, श्वासप्रश्वास र अन्य रोग लाग्नबाट सुरक्षित रहने भएका कारण शिशु मृत्युदरमा २५ प्रतिशतले कमी आएको पनि पाइएको छ ।

· स्तनपान गराउने आमाहरुको स्तन र पाठेघरमा क्यान्सर हुने सम्भावना पनि धेरै कम हुन्छ ।

· जन्मान्तर कायम राख्न स्तनपानले सहयोग पुर्याउँछ ।

· शिशुलाई अन्य महंगा आकर्षण्क बट्टाका लिटो, पाउडर दूधहरु खुवाउनुभन्दा स्तनपान गराउँदा घरको आर्थिक भार पनि घट्छ ।

· स्तनपान गर्न नपाएका शिशुहरु पछि गएर झगडालु स्वभावका हुने, अरुसँग घुलमिल गर्न नसक्ने र आपराधिक कार्यहरुमा लाग्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ ।
तस्वीर सौजन्य : डा. समिर लामा

0 comments

Write Down Your Responses

Powered by Blogger.