रित्तिँदै युवाशक्ति

काठमाडौ । देशमा रोजगारीको सम्भावना नरहेपछि कामको खोजी गर्दै विदेशिनेको सङ्ख्या ह्वात्तै बढेको छ। गत वर्षभन्दा यस वर्ष विदेशिनेको सङ्ख्या सत्रप्रतिशतले बढेको छ। वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्ष चार लाख २५ हजार आठ सय ३० युवा तथा २७ हजार सात सय १३ युवती विदेशिएका छन्। यो सङ्ख्या आर्थिक वर्ष ०६८/६९ को तुलनामा ६२ हजार दुई सय बढी हो। अघिल्लो आर्थिक
वर्षमा तीन लाख ८४ हजार ६ सय ६५ जना युवा रोजगारीका लागि विदेशिएका थिए।
वैदेशिक रोजगार विभागका अनुसार ०६९ मा मासिक औसत ३८ हजार तीन सय ७९ जना कामदार वैदेशिक रोजगारीमा गएका छन्। बितेका दुई वर्षको तथ्याङ्क विश्लेशण गर्दा ०६८ मा भन्दा ०६९ मा मासिक औसत वैदेशिक रोजगारमा जानेको सङ्ख्यामा पाँच हजार एक सय ८३ ले वृद्धि भएको छ भने प्रतिदिन औसत सङ्ख्या एक सय ७० जना बढेका छन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष ०६९/७० मा चार लाख सात हजार एक सय ८१ जना मलेसियामा र अन्य खाडी मुलुकमा मात्र गएका छन् भने बाँकी अन्य मुलुकमा। त्यस्तै, अघिल्लो वर्षहरूमा जस्तै ०६९ मा पनि सबैभन्दा धेरै ठूलो सङ्ख्या युवाहरू मलेसिया, साउदी अरब, कतार र युनाइटेड अरब इमिरेट्स (यूएई) गरी चार मुलुकमा पुगेका छन्। सानो सङ्ख्यामा कामदार कुवेत, बहराइन, ओमन, दक्षिण कोरिया, लेवनान, इजरायल, अफगानिस्तान, जापानलगायतका राष्ट्रमा पुगेको विभागको तथ्याङ्कले देखाएको छ। तथ्याङ्कअनुसार मलेसिया जानेको सङ्ख्या एक लाख ५६ हजार सात सय ७० रहेको छ। जसमा एक लाख ४९ हजार ६ सय पाँचजना पुरुष र सात हजार एक सय ६५ महिला कामदार छन्। यसैगरी कतार जानेको सङ्ख्या ९० हजार नौ सय ३५ जना रहेको छ। जसमा ९० हजार ४२ पुरुष र आठ सय ९३ महिला सो आर्थिक वर्षमा रोजगारीका लागि गएका छन्। तेस्रो श्रम गन्तव्यका रूपमा साउदी अरब रहेको छ। साउदी अरब जानेको सङ्ख्या ८६ हजार दुई सय ७६ छ। यस आवमा ८५ हजार नौ सय नौ पुरुष र तीन सय ६७ महिला साउदीमा रोजगारीका लागि गएका छन्।
यस्तै, यूएई जानेको सङ्ख्या यो आर्थिक वर्षमा ५२ हजार दुई सय ९५ छ। यसमा ४४ हजार ६ सय आठ पुरुष र सात हजार ६ सय ८७ जना महिला छन्। कुबेत जानेको सङ्ख्या यस आवमा १४ हजार चार सय एक छ भने तीन हजार तीन सय ९० बहराइन र तीन हजार एक सय १४ जना ओमन रोजगारीमा गएको विभागले जनाएको छ। यस्तै, सो आर्थिक वर्षमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार नौ सय ५४ रहेको छ। वैदेशिक रोजगारीका नाममा सबैभन्दा बढी युवालाई विदेश उडाउने म्यानपावर कम्पनीको रूपमा एसओएस म्यानपावर रहेको पनि विभागले जनाएको छि। विभागका अनुसार एओएसले एक वर्ष अवधिमा सात हजार पाँच सय ३६ जनालाई रोजगारीका लागि विदेश पठाएको छ। त्यस्तै द रिभर ओभरसिजले ६ हजार चार सय नौ, लक्की एचआर सोलुसनले चार हजार तीन सय २७, धनुष इन्टरनेसनल सर्भिसले चार हजार ७८, कोसी म्यानपावरले चार हजार ७२ जना कामदार पठाएका छन्। यी म्यानपावरले यति धेरै कामदार विदेश पठाए पनि २६ भन्दा बढी म्यानवापर कम्पनीले एकजना पनि कामदार विदेश पठाएका छैनन्। वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गइरहेको भए पनि पछिल्लो समयमा म्यानपावर एजेन्सीमा समेत कामदारको माग ल्याउन र रोजगारीमा पठाउन चर्को प्रतिस्पर्धा बढेपछि ती कम्पनीहरूले कामदार पठाउन नसकेको विभागको ठम्याइ छ। वैदेशिक रोजगारीको काम गर्न भनेर एक हजारको हाराहारीमा म्यानपावर एजेन्सी दर्ता भएका छन्। नेपाली युवालाई विश्वका विभिन्न मुलुकमा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले ती कम्पनी दर्ता भएका हुन्। तर, चर्को प्रतिस्पर्धाकै कारण अहिले सात सय ६७ वटा कम्पनी मात्र सञ्चालनमा छन्। यसमध्ये पनि आर्थिक वर्ष ०६९/७० मा भने २६ वटा म्यानपावरले एकजना पनि वैदेशिक रोजगारीमा पठाउन सकेनन्।
वैदेशिक रोजगार विभागका अनुसार कतिपय कम्पनीले इजाजत लिएदेखि नै एकजना पनि व्यक्तिलाई रोजगारीमा पठाएका छैनन्। विभागका अनुसार ६ वटा कम्पनीले दर्ता भएयता एकजना पनि कामदार रोजगारीमा पठाएका छैनन्। सञ्चालनमा रहेकामध्ये सात सय ३९ कम्पनीले मात्र गत आवमा कामदार रोजगारीमा पठाएका छन्। यस्तै, एक सय २१ कम्पनीले सयभन्दा कम कामदार रोजगारीमा पठाएको विभागले जनाएको छ। विभिन्न ६१ एजेन्सीले ५० भन्दा कम कामदार पठाएका छन् भने १२ कम्पनीले एक वर्षमा दश जनाभन्दा कम कामदारलाई रोजगारीका लागि विदेश पठाएका छन्। कतिपयले वर्षमा दुईजना मात्र कामदार पठाएका छन्।
विगतमा एक वर्षमा ५० भन्दा कम कामदार रोजगारीमा पठाउने कम्पनीलाई इजाजतपत्र खारेज गर्ने व्यवस्थासमेत थियो। तर, वैदेशिक रोजगार क्षेत्रको दायरा फराकिलो र केही मर्यादित, व्यवस्थित बन्दै गएपछि सरकारले सो व्यवस्था हटाएको थियो। अहिले विगतमा राखिएको व्यवस्था नरहनुले पनि म्यानपावर एजेन्सीले कामदार पठाउन चासो नदिएको सरकारी अधिकारीहरू बताउँछन्। वैदेशिक रोजगार विभागका निर्देशक दिवस आचार्यले वैदेशिक रोजगार ऐन–०६४ आउनुअगाडि सो व्यवस्था रहे पनि अहिले त्यस्तो कुनै नियम नभएको बताए। वैदेशिक रोजगार ऐनले रोजगारीमा कामदार पठाउँदा ठगी गरेमा वा रोजगारीमा गएका कामदार ठगीमा परेर फर्किएमा म्यानपावर एजेन्सीले इजाजत लिनुपूर्व राखेको धरौटी रकमबाट क्षतिपूर्ति दिने, उजुरी फरफारक नभएसम्म कम्पनीका कामकारबाही रोक्का गर्नेलगायतका व्यवस्थासमेत गरेको छ। तर, कामदार नपठाएकै कारण दर्ता खारेज गर्ने व्यवस्था अहिले नभएकाले पनि व्यवसायी थप जिम्मेवार नभएको देखिन्छ।
वैदेशिक रोजगारमा जानेको वार्षिक तथ्याङ्क
आर्थिक वर्ष   सङ्ख्या
२०६३/०६४   २,०४,५३३
२०६४/०६५  २४९०५१
२०६५/०६६  २,१९,९६५
२०६६/०६७  २,९४,०९४
२०६७/०६८   ३५४७१६
२०६८/०६९  ३,८४,६६५
२०६९/०७०   ४,५३,५४३

0 comments

Write Down Your Responses

Powered by Blogger.