आज कृष्ण जन्माष्टमी पर्व, देशभरका कृष्ण मन्दिरमा भिड

काठमाडौं, भाद्र १२ । आज कृष्ण जन्माष्टमी । हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण
जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
आज मुलुकभरका कृष्ण मन्दिरहरुमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गनुका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन पनि छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको विश्वास छ । 
कुरुक्षेत्रमा कौरवहरुसँगको लडाईंमा संलग्न पाण्डवहरुमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरुको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो । 
यसअवसरमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पूजा आराधना गर्न विहानैदेखि भक्तजनहरुको ठूलो भीड लागेको छ । काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघ संस्थाहरुले श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने पनि गरिन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.