हरेक दिन ज्यानको बाजी लगाउँछन् माहुतेहरुको पेसा

चितवन, भदौ २०। जोधलाल चौधरीले माहुते पेसा गरी जीविकोपार्जन गर्न थालेको ११ वर्ष भइसकेको छ। तर अझै पनि उहाँलाई बिहान हात्ती लिएर हिँडेपछि सकुशल फर्किन्छु वा फर्किन्न भन्नेमा शङ्कै लाग्छ।
बिहानदेखि साँझसम्म हात्ती नै आफ्नो साथी भए पनि हात्तीले बेला–बेलामा आतङ्कित पार्ने भएकाले
पूर्णरूपमा हात्तीमा नै विश्वास गरेर हिँड्न भने नसकिने उहाँको अनुभव छ।
माहुते पेसामा नै लागेका अर्का बुद्धिलाल श्रेष्ठ पनि यो पेसा ज्यानलाई हत्केलामा राखेर हिँड्नुपर्ने पेसा हो भन्नुहुन्छ। उहाँ पनि ११ वर्षदेखि नै हात्तीसँगै दिन बिताए पनि यो पेसाबाट त्यति सन्तुष्ट देखिनुहुन्न। “पर्यटकलाई लैजाँदा सम्पूर्ण जिम्मा आफ्नै हुने भएकाले झन् ठूलो जोखिम मोल्नुपर्ने हुन्छ”, उहाँको भनाइ छ।
कतिपटक हात्तीलाई चराउन लैजाँदा खसाल्ने गरेको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “हात्तीले खसालेकै कारण अहिलेसम्म यस निकुञ्जका पाँचजना माहुतेको मृत्यु भइसकेको छ। कतिलाई हात्तीको दाह्राले छेडेको छ।”
करिब १९ वर्षदेखि यही पेसामा रहेका शङ्कर चौधरी हात्तीकै कारण अहिले घाइते जीवन बिताइरहनु यसको दुःखद् उदाहरण हो।
शङ्करले तीतो अनुभव यसरी सुनाउनुभयो, “सबैजना हात्तीमा चढेर डुलिरहेका थियौँ, खाजा खाने बेला पनि भएकाले एउटा पसलमा खाजा खान भनेर झर्यौँ“, मैले आफ्नो हात्तीलाई बाँधेर राखेको भए पनि साथीले उसको हात्तीलाई यत्तिकै छाडिदिएको रहेछ। ऊ त खाजाघरभित्र छिरिहाल्यो, तर उसको हात्तीले आक्रमण गर्न सुरु गरिहाल्यो। एकैछिनमा भागदौड मच्चियो। त्यति नै बेला मलाई पनि हात्तीले आक्रमण गर्योस जस्का कारण मेरो नलीखुट्टोमा समस्या भयो र अहिलेसम्म पनि मेरा खुट्टाले राम्ररी टेक्न सक्दैन।” त्यो घटनापछि उहाँले हात्तीमा चढ्न सक्नुभएको छैन, त्यसैले हात्तीका लागि दाना तयार गर्ने काम दिइएको छ।
हात्तीमा नियमित रूपमा चढ्ने माहुतेले मात्र उक्त हात्तीलाई नियन्त्रणमा लिन सक्ने भएकाले आफ्नो हात्तीले भन्दा अर्काको हात्तीले आक्रमण बढी गर्ने गर्दछ। छ वर्षदेखि यस पेसामा रहेका नेत्रबहादुर दर्जी भन्नुहुन्छ, “आफ्नो हात्तीले खसाल्ला भन्ने चिन्ता हुृन्छ, तर अर्काको हात्तीले सिधै आक्रमण गरेर घाइते पार्ने र मार्नेसम्म गर्दछ। घाँस काट्दा कतिपटक अर्काको हात्तीको आक्रमणमा पनि परिसकिएको छ। तर अहिलेसम्म घाइते भने हुनुपरेको छैन।”
निकुञ्जको अनुगमनका लागि प्रत्येक साँझ गस्ती जानुपर्ने हुन्छ, तर हात्तीबेगर प्रशासन अथवा सेना कोही पनि जङ्गलभित्र छिर्ने आँट गर्दैनन्। कहिलेकाहीँ हात्ती–हात्ती एकआपसमा जुधेर पनि हैरान गर्ने गर्दछन्। त्यस्तो अवस्थामा हात्ती त घाइते हुँदैनन् तर उनीहरूले मानिसलाई आक्रमण गर्न खोज्दछन्।
यस निकुञ्जमा ५८ वटा हात्ती छन्। तिनको रेखदेखका लागि १२९ जना कर्मचारी रहेका छन्। एउटा हात्तीको रेखदेखका लागि कम्तीमा पनि तीनजना आवश्यक पर्दछ। जस्मा माहुते, पछुवा र फनित पर्दछन्। हात्तीको खानेकुरा तयार गर्ने, हात्तीसार सफासुग्घर गर्ने, बिहान हात्तीलाई जङ्गलमा लैजानेलगायतका काम उनीहरूको जिम्मामा हुन्छ।
उनीहरूको काम बिहान ४ बजेदेखि सुरु हुने गर्दछ। हात्तीलाई लिएर निकुञ्जभित्रको जङ्गलमा घाँस काट्न जानु सबैभन्दा पहिलो काम हुने गर्छ। हात्तीलाई लिएर जङ्गलबाट फर्केपछि हात्तीका लागि दाना तयार गर्नु र खुवाउनु पर्ने अर्का माहुते हीरालाल चौधरी बताउनुहुन्छ।
हात्ती सवारका लागि असोज, कात्तिक र मङ्सिर मुख्य समय हो। दिनभर हात्तीसँग समय बिताउन गाह्रो भए पनि दैनिक १४ घन्टा हात्तीकै सेवामा माहुतेहरू लाग्नुपर्ने हुन्छ।
माहुते पेसा यति धेरै जोखिममा भए पनि सरकारले आफूहरूप्रति बेवास्ता गरेकामा माहुतेहरूको चित्त दुखाइ छ। यत्रो वर्ष काम गरे पनि अहिलेसम्म उहाँहरूको जागिर करारमा नै छ। आफ्नो जीवनको ऊर्जाशील समय माहुते पेसामा लगाए पनि सरकारले अहिलेसम्म स्थायी नगराएको भन्दै उहाँहरूले दुखेसो पोख्नुभयो।
यस निकुञ्जमा कुल १२९ कर्मचारीमध्ये अझै ७० जना माहुते करारमा नै कार्यरत छन्। निकुञ्जमा रहेको प्रजनन केन्द्रमा हात्तीको प्रजनन गराएर नयाँ हात्ती जन्मिने क्रम बढ्दो भए पनि सोहीअनुरूपको जनशक्ति भने घट्दो स्थितिमा छ। कतिपय कर्मचारी माहुतेको विकल्प खोज्न थालिसकेका छन्।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.