आजबाट लुम्बिनीमा सडक खाना महोत्सव
१६ पुस, भैरहवा । ‘लुम्बिनी जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔं’ भन्ने मूल नाराकासाथ गौतम
बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो सडक खाना महोत्सव आजबाट सुरु हुँदैछ ।
अग्रेजी नयाँ वर्ष तथा क्रिमशसको अवसरमा डिसेम्वर ३१ र जनवरी १ का दिन सडक खाना महोत्सव लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसन र सिद्धार्थ होटल एशोसियसन (साटा)ले गरेका हुन् । गत वर्षबाट लुम्बिनी सडक खाना महोत्सव गर्न थालिएको हो ।
महोत्सवमा यो वर्ष स्टलको संख्यासमेत बढाइएको लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसनका अध्यक्ष तथा महोत्सवका संयोजक मिथुन श्रेष्ठले बताउनुभयो । यसपटकको महोत्सवमा ५० देखि ६० वटा विभिन्न खानाका स्टलहरु राखिनेछ । मेलाको प्रर्वद्धकको रुपमा सिद्धार्थनगर उद्योग वाणिज्य संघ रहेको छ । आन्तरिक तथा बाहृय पर्यटकको प्रर्वद्धन तथा आगामन बढाउन आवासमा २ दिन ४० प्रतिशत र खानामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सिद्धार्थ होटल एशोसियसनका सचिव लिलामणी पौडेलले अनलाइनखबरलाई बताउनुभयो ।
महोत्सवमा शुद्ध नेपाली खानाका परिकारका साथै एसिया, युरोप र अमेरिकासहितका देशका विभिन्न जातजातिका खानाका परिकारको मज्जा लिनसकिने आयोजकले जनाएका छन् । महोत्सवले लुम्बिनीको प्रचार गर्नुका साथै आन्तरिक तथा बाहृय पर्यटकको प्रर्वद्धनमा समेत टेवा पुग्ने महोत्सवका प्रर्वद्धक सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद शर्मा बताउनुहुन्छ ।
यसका अलवा सडक महोत्सवमा आधुनिक नेपाली, परम्परागत नेपाली र थारुसहितका विभिन्न जाति तथा जनजातिहरुका विशेष सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने भएको छ ।
१० हजार मानिसले अवलोकन गर्ने अपेक्षा लिएको मेलामा रहने स्टलहरु निःशुल्क व्यवस्था गरिएको छ । करिव ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवमा नाफमूखी नबनाई लुम्बिनीको पहिचान जीवन्त राख्न आयोजना गरिएको अग्रज पत्रकार चेतन पन्त बताउनुहुन्छ ।
मेलामा आउन सिद्धार्थनगर यातायात व्यवसायी समिति र पश्चिम नेपाल बस व्ययसायी संघले लुम्बिनी आउन यातायातको व्यवस्था गर्ने भएका छन् । लुम्बिनीबाट बुटवल र बेलहिया नाकासम्मका लागि पहल जारी रहेको आयोजकको भनाई छ । आध्यात्मिक गीत संगीत र आधुनिक गीत संगीतको संगम गराएर नौलोपन महसुस गराउन कार्याक्रमको व्यवस्थापन गरिएको आयोजकको भनाई छ ।
0 comments
Write Down Your Responses