अझै नियन्त्रण भएन नेपालमा बालविवाह

काठमाडौँ, १४ पुस ।  कानुनले बालविवाहलाई पूर्ण निषेध गरेको भएपनि नेपालमा बालविवाह अझै चुनौतीको रुपमा रहेको छ  । बालविवाह गर्दा किशोरीहरुको स्वास्थ्य जोखिममा पर्ने  गरेको छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०६८ का अनुसार ४० प्रतिशत अर्थात १३ लाख किशोरी १९ वर्ष नपुग्दै विवाह हुने गरेको छ
भने  ती मध्ये करीब  साढे ५ लाख किशोरीहरु त १९ वर्ष अगावै  आमा बन्ने गरेका छन् ।
त्यस्तै २०६८ सालको तथ्याङ्क अनुसार कुल विवाहित जनसंख्या १ करोड ३३ लाख ३८ हजार चारसय ९६ मध्ये ८० लाख १८ हजार ३ सय १३ अर्थात ६० दशमलव १२ प्रतिशतले बालविवाह गरेको तथ्याङ्ले देखाएको छ । कम उमेरमा विवाह गर्नु कानुन विपरीत तथा स्वास्थ्यका दृष्टिले समेत जोखिमपूर्ण हुने गरेको बताउनु हुन्छ ओरेक नेपालकी अध्यक्ष डा. रेणु राजभण्डारी ।
उहाँका अनुसार कम उमेरमा विवाह गरेका किशोरीहरु आमा बन्ने गरेपछि आमा तथा बच्चाको अवस्था जोखिममा हुने गर्दछ । कम उमेरमा विवाह गरेकै कारणले गर्दा यौन परिपक्वता नभएकाले आमा बन्न सक्षम नभएका ती किशोरीहरुमा रक्तस्राव, पाठेघरको क्यान्सर जस्ता विभिन्न रोगको सिकार बन्नु पर्ने तथा आमाको ज्यानै जाने सम्भावना रहने उहाँको भनाई छ ।
त्यस्तै विश्व जनसंख्या कोषका अनुसार नेपाल लगाएत विश्वका विकासोन्मुख देशहरुका ५० करोड किशोरी मध्ये २० करोड किशोरी १९ वर्ष नपुग्दै विवाह गरी आफ्ना प्रगति रोक्न बाध्य भएको देखाएको छ । जसका कारण १९ वर्ष नपुग्दै गर्भवती हुँदा वा बच्चा जन्माउँदा नेपाल लगायत विकासोन्मुख देशका किशोरीहरु उच्च जोखिम तथा विरामीपना व्यहोरिरहेको अध्ययनमा देखिएको छ ।
बालविवाह गर्दा वैयक्तिक स्वायत्ततामा कमी आउने महिला पुनस्र्थापना केन्द्रकी अध्यक्ष निर्मला बरालले बताउनुभयो ।  उहाँका अनुसार बालविवाहले सवल, सक्षम,जुझारु, स्वाभिमानी महिला बन्नमा बाधा पु-याउँछ ।
ऐनमा बालविवाहलाई पूर्ण निषेध गरीएको भएपनि व्यावहारिक जीवनमा भने त्यसले पूर्णता पाउन नसकेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव खड्गबहादुर राणाले बताउनु भएको छ । नेपालको कानुन अनुसार विवाहका लागि न्यूनतम् १८ वर्षको उमेर पुगेको हुनुपर्दछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.