घर नभत्काउन सुकुम्बासीको चेतावनी
इटहरी, ६ पुस । सुनसरी मोरङ सिँचाइ आयोजनाले नहरको दायाँबायाँ घरटहरा बनाएर बसोवास गरेका स्थानका भौतिक संरचना भत्काउने निधो गरेर सूचना जारी गरेपछि वास्तविक सुकुम्बासी परिवारमा त्रास फैलिएको छ । तर धनाढ्य र अन्य स्थानमा पनि घरजग्गा हुनेहरुलाई भने आयोजनाको यो निर्णयले कुनै फरक पारेको छैन । सुनसरी जिल्लाको बराहक्षेत्रदेखि मोरङ जिल्लाको केरौनसम्म झन्डै पाँच हजारभन्दा बढी घरटहरा रहेकामा झन्डै १ सय भन्दा बढी घरटहरा र छाप्रा सुकुम्बासीको भएको स्वयम् सुकुम्बासीको भनाइ छ ।
नेपाल भूमिहीन सुकुम्बासी संगठन मोरङका अध्यक्ष ओमनाथ उप्रेतीले त्यस्तो धम्कीपूर्ण पत्र आयोजनाको विराटनगरस्थित केन्द्रीय कार्यालयमा बुझाएर आयोजनाले अघि बढाएको अभियानलाई बीचैमा तोड्ने धम्की दिएका छन् । तर, आयोजनाले कुनै पनि धम्कीलाई नटेर्ने र कानुनले दिएको अधिकारको प्रयोग गर्ने अन्तिम तयारीमा रहेको बताएको छ । केहीमात्र वास्तविक सुकुम्बासी भएको भनिएकाहरुमा पनि कतिपय नेपाली नभएर आसामबाट आएका तथा भारतको अन्य स्थानबाट आएर स–सानो पेसा व्यवसाय गर्ने मानिसहरु भएको पनि स्थलगत अध्ययनले देखाएको छ ।
यही क्रममा सुनसरीको खनारमा भेटिएका सुकुम्बासी सङ्घर्ष समिति संयोजक दीपक रसाइलीले वास्तविक सुकुम्बासीलाई उठीवास लगाउनु न्यायोचित नभएको टिप्पणी गर्दै राज्यले विकल्प दिनुपर्ने माग गरेका छन् । कतिपय सुकुम्वासीहरु वास्तवमा नै सुकुम्बासी भएकाले उनीहरुलाई सरकारले न्यायपूर्ण व्यवहार गर्नुपर्ने भन्दै आफूहरुको कहीँ कतै खुट्टा अड्याउने र टाउको लुकाउने ठाउँसमेत नभएको बताएका छन् ।
वास्तविक सुकुम्बासी नै रहेका रघुनाथ साहले आफ्नो कहीँकतै एकधुर जमिन नभएको बताउनुभएको छ । उहाँले भने आयोजनाले घरटहरा भत्काइदिएको खण्डमा कहीँ बस्ने ठाउँ नहुने दु:खेसो पोखेका छन् । आजभन्दा ३८ वर्षअघिदेखि खनारस्थित उत्तरतिरको नहरको डिलमा छाप्रो हालेर परिवारको लालनपालन गर्दै आएका वासुदेव शर्मालाई पनि आयोजनाले घर भत्काइदियो भने कहाँ गएर बास बस्ने होला भन्ने चिन्ताले निकै सताइरहेको छ । उहाँले भन्नुभयो, खोई भागेर कता जाने हो केही थाहा छैन ।
0 comments
Write Down Your Responses