सोलु करिडोर प्रसारण लाइन निर्माण स्वीकृत प्रदान

काठमाडौं, १७ पुस । सरकारले सोलु करिडोरअन्तर्गतको प्रसारण लाइन निर्माणका लागि स्वीकृत प्रदान गरेको छ । सो करिडोर प्रसारण लाइन नहुँदा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिएको
थिएन । विद्युत् विकास विभागले नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको सो प्रसारण लाइनका लागि आज अनुमति प्रदान गरेको हो । प्राधिकरणलाई करिब २५ वर्षका लागि अनुमति प्रदान गरिएपछि सो करिडोरअन्तर्गतका जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुनेछ ।
सो करिडोरमा हाल एक दर्जनको हाराहारीमा जलविद्युत् आयोजनाहरू निर्माणको क्रममा रहेका छन् । विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार सो लाइनको लम्बाइ ८८.४ किलोमिटर रहेको छ । सोलुखुम्बु जिल्लाको तीनगालेबाट सुरु हुने सो लाइन सिरहाको मिर्चैयासम्मको हुनेछ । त्यहाँ रहेको सबस्टेसनमा सो लाइन जोडिनेछ ।
सो आयोजनाको लागत रु ६७ करोड ५० लाख रहेको छ । प्राधिकरणले सो लाइन एसियाली विकास बैंकको सहयोगमा आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.