समानुपातिकतर्फ सप्तरीबाट तीन महिलासहित आठ सभासद्

नेकपा (एमाले)बाट दुई, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट दुई, नेपाली काँग्रेसबाट एक, एकीकृत नेकपा (माओवादी)बाट एक, राप्रपा नेपालबाट एक र नेकपा (संयुक्त) बाट एक जना समानुपातिकतर्फको सभासद् बन्नुभएको छ ।
मधेसी जनअधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टीले समानुपातिक सभासद्को सूची बुझाउन बाँकी रहेकाले सप्तरीबाट सभासद् बन्नेको सङ्ख्या अझ बढ्न सक्ने बताइन्छ ।
एमालेले सत्यनारायण मण्डल, रञ्जु ठाकुर झा, फोरम (लोकतान्त्रिक)ले डा. सुबोध पोखरेल, रमणि राम, काँग्रेसले रञ्जित कर्ण, एमाओवादीले राम कार्की, राप्रपा नेपालले गङ्गाप्रसाद यादव र नेकपा (संयुक्त)ले मिथिला चौधरीलाई समानुपातिकतर्फ संविधानसभा सदस्यमा मनोनयन गरेका छन् ।
समानुपातिकतर्फ सभासद्को सूचीमा पर्नुभएकी रमणि रामबाहेक सबै जना नयाँ हुन् । अघिल्लो संविधानसभामा तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट समानुपातिक सभासद् बन्नु भएकी राम पछि महेन्द्र राय यादव नेतृत्वमा पार्टी विभाजन गरी तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल गठन गर्नुभएको थियो । उहाँ सो पार्टीबाट सिँचाई राज्यमन्त्री समेत बन्नुभएको थियो । सप्तरीको डिमन गाविस निवासी राम यसपालिको संविधानसभा निर्वाचन हुनुभन्दा केही महिनाअघि फोरम (लोकतान्त्रिक)मा प्रवेश गर्नुभएको थियो ।
सप्तरीको कमलपुर गाविसका मण्डल एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ भने जिल्लाको तिलाठी गाविस निवासी झा एमाले निकट अखिल नेपाल महिला संघका केन्द्रीय सचिव हुनुहुन्छ । झा यसअघि एमालेकै तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरीको क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्नु भएको थियो ।
सप्तरीको फत्तेपुर गाविस निवासी डा. पोखरेल यसपालिको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा फोरम (लोकतान्त्रिक)मा प्रवेश गर्नुभएको थियो । काँग्रेसबाट समानुपातिकतर्फ सभासद् हुनुभएका सप्तरीको कोबर्साइन गाविस निवासी कर्ण नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।
यस्तै एमाओवादीबाट सभासद् बन्नुभएका सप्तरीको फत्तेपुर गाविस निवासी राम कार्की एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ । राप्रापा नेपालका तर्फबाट समानुपातिक सभासद् बन्नुभएका जिल्लाको १ नम्बर योगिनियाँ गाविस निवासी यादव राप्रपा नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ जिल्ला विकास समिति सप्तरीका पूर्व उपसभापति समेत हुनुहुन्छ । त्यस्तै नेकपा (संयुक्त)बाट समानुपातिकतर्फको सभासद्मा मनोनित चौधरी राजविराज नगरपालिकाका स्थायी निवासी हुनुहुन्छ ।
कुल ६ वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा गएको मङ्सिर ४ गते भएको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ तीनवटा क्षेत्रमा एमाओवादी, दुई वटामा काँग्रेस र एउटामा एमालेले सफलता हात पारिसकेको छ ।
प्रत्यक्षतर्फ सप्तरीका क्षेत्र नम्बर १, २ र ३ मा एमाओवादीका मानपुर चौधरी, अशोक कुमार मण्डल, उमेश कुमार यादव, क्षेत्र नं ४ मा एमालेका ताराकान्त चौधरी, क्षेत्र नं ५ र ६ मा काँग्रेसका तेजुलाल चौधरी र सुरेन्द्रप्रसाद यादव विजयी भइसक्नुभएको छ ।
अघिल्लो संविधानसभामा सप्तरीबाट प्रत्यक्ष र समानुपातिक गरी विभिन्न दलका १६ सभासद्ले प्रतिनिधित्व गर्नुभएको थियो ।
0 comments
Write Down Your Responses