पृथ्वीजयन्तीमा बिदा दिन सरकार सकारात्मक : संस्कृतिमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले पृथ्वीनारायणको जन्मजयन्तीका दिन बिदा दिन सरकार सकारात्मक रहेको र मन्त्रिपरिषद्, गृहमन्त्रालयसहित सम्बन्धित सबै पक्षसँग छलफल गरी सहमति भएमा मन्त्रिपरिषद्मा प्रस्ताव लैजान आफूले विलम्ब नगर्ने बताउनुभयो । उहाँले पुस २७ भित्र उनको सालिक पुनःस्थापना गर्ने योजना भए पनि प्राविधिक कारणले यस पटक सम्भव नभएको जानकारी दिनुभयो ।
एमाओवादीका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले चार जात छत्तीस वर्णले पृथ्वीनारायण शाहको कार्यकालमा समाज र देशमा उथलपुथल गरेको बताउँदै उनले जस्तै आफ्नो दलले पनि राष्ट्रियताको रक्षा गर्न दीर्घकालीन जनयुद्ध लडेको हो भन्नुभयो ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले परिवर्तनको नाममा इतिहासलाई बिर्सन हुन् भन्दै पृथ्वीनारायण अमर व्यक्तित्व भएको चर्चा गर्नुभयो ।
नेकपा–माओवादीका पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले पृथ्वीनारायण नयाँ इतिहासको रचयिता हुन् र राष्ट्रियताको निर्माण तथा संरक्षणमा उनले खेलेको भूमिका महत्वपूर्ण छन् भन्दै राष्ट्रियताको संरक्षण गर्न तथा साम्राज्यवादीको हस्तक्षेपविरुद्ध जनता संगठित हुनुपर्ने औँल्याउनुभयो ।
राष्ट्रिय जनमोर्चाका नेता विष्णु थिङले पृथ्वीनारायणले खेलेको भूमिकालाई फर्केर हेर्नुपर्ने बताउँदै सङ्घीयताबाट देश टुक्रा टुक्रा हुने चेतावनी दिनुभयो । राप्रपा नेपालका महासचिव चन्द्रबहादुर गुरुङले ‘संघीयता जनताबाट अस्वीकार भइसकेकाले’ राजतन्त्रसहितको प्रजातान्त्रिक संविधान बनाउनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका नेता रघुजी पन्तले साँचो गणतन्त्रवादीले देशको इतिहासलाई गलत ढंगले बुभm्दैन भन्दै पृथ्वीनारायण राष्ट्रनिर्माता भएकाले पृथ्वीजयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काइँला, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पृथ्वीजयन्ती मूल नागरिक समारोह समितिका संयोजक डा. रमेश ढुङ्गेल, नागरिक समाजका भरत बस्नेत, प्रा. दिनेशराज पन्त, प्राज्ञ जगमान गुरुङलगायतले पृथ्वीनारायणले नेपालको एकीकरणको साथसाथै त्यस बेलाको इतिहासमा साम्राज्यवादी तथा विस्तारवादी शक्तिसँग लडेकाले यस महादेशकै महानायक भएको विचार व्यक्त गर्नुभयो ।
0 comments
Write Down Your Responses