विधानविपरित क्रियाकलाप गर्ने नेतालाई राप्रपाबाट निष्कासन

काठमाडौं, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी विधान, नीति तथा हित विपरित आचरण र क्रियाकलाप गर्ने नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ । सो पार्टीले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी
यही पुस १५ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकले पारित गरेका निणर्यहरू सार्वजनिक गर्दै पार्टीलाई टुक्राउनेसमेतको कार्यमा संलग्न भएको भन्दै केन्द्रीय सदस्य श्याम तिमल्सिना, बालकृष्ण न्यौपाने, गणेश शेरचन, शास्त्रदत्त पन्त र बद्रीबहादुर केसीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिइयो ।
पार्टीको हितलाई आघात पुग्नेगरी पार्टी विखण्डन गर्ने कार्यमा संलग्न रहेको भन्दै पार्टीले सहायक महामन्त्रीद्वय रमेश श्रेष्ठ र प्रह्लाद शाह, केन्द्रीय सदस्यहरू  घनेन्द्र सुब्बा, रुपसिंह थापा, दशरथ जोशी र टेकनारायण राजवंशीसहित ६ जनालाई आत्मालोचनासहित निर्वाचन आयोगमा दिएको निवेदन पुस २५ गतेभित्रमा फिर्ता लिन ‘अल्टिमेटम’ दिएको छ ।
सो अवधिभित्र आत्मालोचना नगर्ने र निवेदन फिर्ता नलिने व्यक्ति पुस २६ गतेपछि साधारण सदस्य समेत नरहने गरी स्वतः निष्काशित हुने पार्टी अध्यक्ष कमल थापाले बताउनुभयो ।
सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको एजेण्डाको पक्षमा सहमति र सम्झौता कायम गर्न संसद र संविधानसभामा आफ्नो पार्टीले सक्रिय भूमिका निर्वाह गर्ने अध्यक्ष थापाको भनाइ थियो ।
उहाँले भन्नुभयो, “हाल भइरहेको धर्म परिर्वतन गराउने कार्यलाई तत्काल रोक लगाउने, नयाँ सरकार गठन भएको ६ महिनाभित्र स्थानीय निकायको चुनाव सम्पन्न गर्ने, भष्टाचारबिरुद्ध कारबाही तथा निवारणका लागि उच्चस्तरिय सम्पत्ति छानबिन आयोग गठन गर्ने, विद्युत्भार कटौती अन्त्य गर्ने, बेरोजगारी समस्या समाधान गर्नेजस्ता विषयलाई उच्च प्राथमिकताका साथ राप्रपा नेपालले संसदमा सशक्त ढङ्गले उठाउनेछ ।”
समानुपातिक निर्वाचन प्रणालीतर्फ राप्रपा नेपालले प्राप्त गरेको २४ सिटमा उम्मेदवारको नाम सिफारिस गर्दा केही कमीकमजोरी भएको स्वीकार गर्दै अध्यक्ष थापाले पछिल्लोपटक पार्टीभित्र देखिएको विवाद अन्त्यसँगै पार्टी अब एक ढिक्का भएर अगाडि बढ्नेछ भन्नुभयो ।
संविधानसभा समानुपातिक प्रणालीअन्तर्गत पार्टीका तर्फबाट छनोटमा नपरेका असन्तुष्ट नेताहरूले पार्टीको ६० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको जनाउँदै पार्टीका तर्फबाट आयोगमा बुझाइएको बन्दसूचीका विजयी उम्मेदवारलाई आधिकारिकता नदिन र ‘नेपाली राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल’ नामक नयाँ पार्टी दर्ता गर्न भन्दै यही पुस १५ गते आयोगमा निवेदन दिएका थिए ।
सो पार्टीले चार महिनाभित्र पार्टी संगठन सुदृढीकरण गर्दै २०७१ जेठ २, ३ र ४ गते पार्टीको केन्द्रीय महाधिवेशन गर्नेसमेत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.