मोष्ट वाण्टेड पनि एमाओवादीको सभासद्

 महोत्तरी सहसौला ६ का रामविलास मण्डलको हत्या आरोपमा प्रहरीको फरार मोष्टवाण्टेडको सूचिमा रहेका सोही स्थानका लालेन्द्रकुमार मण्डललाई एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फबाट संविधानसभाको सदस्य बनाएको खुलासा भएको छ ।
२०६९ साल भदौ १६ गते राती १० बजे गाँउमै बाध बाध्ने विषयको सामान्य विवादमा लालेन्द्रसहित उपेन्द्र मण्डल, गनौरा मण्डल, रामपदारथ मण्डल र चन्देश्वर मण्डलले रामविलासको हत्या गरेका थिए । पीडित परिवारको किटानी जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०६९ साल माघ ४ गते बारेन्टसहितको ७० दिने म्यादपूर्जि जारी गरेको थियो । ईलाका प्रहरी कार्यालय रामगोपालपुरले माघ १० गते फरार रहेको भन्दै म्याद तामेली गरेको थियो ।
मृतकका छोरा श्रीनारायण मण्डलले शुक्रवार राजधानीमा एक पत्रकार सम्मेलन गरी जिल्ला अदालतको सरकारी फौजदारी मुद्दा नम्बर ००८९१ मा फरार रहेका लालेन्द्रलाई पक्राउ गर्नुको साटो जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी रामप्रसाद श्रेष्ठले नै संरक्षण दिएको आरोप लगाए । प्रहरीले नै फरार भन्दै मोष्टवाण्टेडको सूचिमा राखेका लालेन्द्रलाई चुनाव प्रचारको बेला एसपी श्रे
ष्ठले नै तीन जना प्रहरी जवान अगंरक्षकको रुपमा दिएको भन्दै आफूले पक्राउ गर्न बारम्बर आग्रह गर्दा समेत जे गर्छस गर भन्दै धम्काएर फर्काउने गरेको सुनाए ।
उनको बुबाको हत्याको आरोप लागेका मध्ये उपेन्द्र साधारण तारेखमा छुटेको, गनौरा ९ महिनादेखि पुर्पक्षको क्रममा थुनामा रहेको र अरु तीन जना फरार रहेको प्रहरीको रेकर्डमा भएकोमा लालेन्द्र खुल्ला रुपमै जिल्लामा रहेर अहिले एमाओवादीको सभासद बनेको, रामपदारथ र चन्देश्वर भने भारतमा लुकेर बसेको पत्रकार सम्मेलनमा श्रीनारायणले जानकारी दिए ।
श्रीनारायणले आफू गरिब र कुनै सोर्स फोर्स नभएको ब्यक्ति भएकोले आफ्नो आवाज कसैले नसुनेको भन्दै पत्रकार र सम्बन्धीत निकायलाई आफ्नो न्याय पाउने अधिकारको संरक्षण हुने बातावतरण मिलाई दिन आग्रह गरे । उनले अहिले लालेन्द्र सभासद भए भोलीका दिनमा फेरि शक्तिको प्रयोग गरेर आफूलाई गाँउबाट विस्थापित गर्ने सम्भावना ब्यक्त गर्दै सहयोगको लागि उनले सबै पक्षलाई गुहारे । यसविषयमा आफूले निर्वाचन आयोगमा पुस १८ गते उजुरी दिएको भए पनि कुनै वास्ता नगरेको गुनसो समेत पत्रकार सम्मेलनमा गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.