वैदेशिक रोजगारमा दिनहुँ २० लाख घुस, वैदेशिक रोजगार विभाग र अध्यागमनका कर्मचारीबीच सेटिङ

छानविनमा संलग्न एक अधिकृतका अनुसार कुल कामदारको २० प्रतिशतले मात्रै प्रक्रियागत त्रुटी गर्दा पनि दैनिक ३ सय कामदारले मेनपावर कम्पनीमार्फत घुस खुवाएर पसिना चुहाउन जानुपर्ने बाध्यता छ । ‘मानिलिऊँ, तिमध्ये २ सय कामदारको मात्रै घुस असुल्दा पनि दैनिक २० लाख रुपैंया उठ्छ’ ती अधिकृतले भने ।
संस्थागत रुपमा जाने कामदारको पनि पेशा र कम्पनी फरक पार्न व्यवसायीले कर्मचारीसंग मिलिमतो गर्दै आएका छन् । ‘राष्ट्रसेवक कर्मचारीहरुबाटै सेटिङ स्थापित गरी घुसखोरीलाई संस्थागत गरेको मुद्दामा पहिलोपटक अनुसन्धान गरी कारवाही अघि बढाइएको छ,’ अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेले भने, ‘एउटा घटनाका आधारमा कर्मचारी, व्यवसायी र दलाल गरी ६४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।’
मुद्दा दायर भएपछि पनि सुधारका लागि निगरानी र अनुगमन जारी रहेको घिमिरेले बताए । अख्तियारले भदौमा विभाग, अध्यागनमा छापा मार्दै कर्मचारी, मेनपावर व्यवसायीलाई पक्राउ गरेको थियो । उक्त घटनापछि दैनिक जसो अख्तियारका कर्मचारी आउने गरेका विभाग अधिकारीहरुले जनाएको कान्तिपुर दैनिकमा खबर छ ।
‘अख्तियारबाट नियमित जसो कर्मचारी आउँछन्, बुझ्छन्’ विभागका प्रबक्ता दिवस आचार्यले भने । एक महिनादेखि विभाग संहालेका महानिर्देशक रवीन्द्र मोहन भट्टराईले जुनै ठाउँमा हुने अनियमिता रोक्न निगरानी हुनुपर्छ भन्दै ‘गुड फेथ (असल नियत)’ ले काम गर्ने कर्मचारीलाई भने हतोत्साही गराउन नहुने बताए ।
दुई वर्षअघि बैदेशिक रोजगार विभागको निगरानी गरेको राष्ट्रिय सतर्कता केन्द्रले विभागका कर्मचारीले प्रतिकामदार ५ सयदेखि एक हजार रुपैंयाका दरले असुल्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । सतर्कता केन्द्रको विवरण सार्वजनिक भएपछि सुधारका लागि सहसचिव पूर्णचन्द्र भट्टराईलाई महानिर्देशक बनाई विभागमा सरुवा गरिएको थियो । उनी विभागबाट सरुवा भएपछि विनोद केसी महानिर्देशक भएका थिए । त्यसलगत्तै अख्तियारले बैदेशिक रोजगार र अध्यागमन विभागमा छापा मारी ३५ जना कर्मचारीलाई पक्राउ गरी छानविन थालेको थियो । घटनामा विभागका निर्देशक रमेश मैनाली सहित ९ अधिकृत र अन्य कर्मचारी निलम्बित छन् ।
औसतमा दैनिक १२ सय कामदार बैदेशिक रोजागारीमा पठाउन अनुमती दिने विभागका कर्मचारीहरुले प्रक्रिया नपुगेका र त्रुटीपूर्ण कागजात पेश गरेका कामदारसँग मात्रै असुल्ने गरेका छन् । कर्मचारीहरुले मेनपावरका श्रम प्रतिनिधी (एजेण्ट)प्रयोग गरी प्रतिकामदार दश हजार रुपैंयाका दरले रकम उठाउने गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
अख्तियारको छानविनले कर्मचारीहरुले मेनपावर कम्पनीबाट लिने घुसको दरमा भने एकरुपता नभएको निचोड निकालेको छ । अधिकृतस्तरकै कर्मचारीले पाँच सयदेखि चार हजार रुपैंयासम्म लिने गरेको खुलेको छ ।
विभागबाट चार महिनाअघि ७७ कामदारको श्रमस्विकृतीको कागजात गायव पारिएको घटनाको छानविन गरिरहेको अख्तियारले प्रोग्रेसिभ प्लेसमेन्ट सर्भिस प्रालिले कतार दोहाका लागि अब्दुल एण्ड आसाद ट्रेडिङ कम्पनीबाट ६५ जनाका लागि श्रम स्विकृतीमा मेनपावर व्यवसायी र कर्मचारीविचको आश्चर्यजनक ‘सेटिङ’ फेला पारेको छ ।
‘श्रम स्विकृतीको फाइल अनिवार्य सुरक्षित राख्नुपर्ने व्यवस्था भएपनि सेटिङपछि आफु फस्ने डरले नष्ट गरेको पाईयो’ अख्तियारको दावी छ ।
प्रोग्रेसिभका सञ्चालक श्याम प्रसार श्रेष्ठले आफै वा आफ्नो श्रम प्रतिनिधी मार्फत पेश गर्नुपर्ने कागजात अर्को मेनपावर सन्ना इन्टरशेननलका सञ्चालक मुस्तक मियालाई स्विकृतीका लागि दिएको भेटिएको छ । मियाबाट कागजात पाएका श्रम प्रतिनिधी अशोक श्रेष्ठले कागजातविना नै अन्तिम श्रम स्विकृती लिएका थिए ।
बैदेशिक रोजगारीमा जाने ७७ जना कामदारको फाइल रहस्यमय ढंगले गायव गरिएको घटनाको अनुसन्धानका क्रममा आयोगले प्रक्रिया नपुर्याएको फाइल सदरका क्रममा प्रतिव्यक्ति करिव १० हजार रुपैंयाका दरले घुस असुली हुने गरेको फेला पारेको हो । ‘व्यक्तिगत श्रम स्विकृतीको कागजात एकातर्फ मिल्क्याएर मिलेमतोका आधारमा पेशा र कम्पनी नै फरक पारेर मेनपावरमार्फत कामदार पठाउने प्रवृति मौलाएको छ’ अख्तियार स्रोतले भन्यो, ‘घटनाको प्रवृति हेर्दा कर्मचारीतन्त्रको माथिल्लो तहदेखि बैदेशिक रोजगार व्यवासीहरुको संस्थागत पहलमा सेटिङ सम्भव भएको देखिन्छ ।’
रामइश्वर चमारले थाउजेन्ट फर कार रेन्टर नामक कम्पनीमा ड्राइभरका लागि श्रमस्विकृती लिएकोमा म्यानपावरसंग मिलिमितो गरी कर्मचारीहरुले कम्पनीको नाम अब्दुल आसाद ट्रेडिङ कम्पनी राखी कारपेन्टर पेशाका लागि अन्तिम श्रम स्विकृती दिएका थिए ।अरु ३ कामदारको पनि यसैगरी सेटिङ मिलाइएको खुलेको छ ।
कतारको ‘आन्तरिक मामिला संबन्धी मन्त्रालय (मिनिष्ट्रि अफ इन्टेरियर)’को वेवसाईटमा भीसा लिनेको नाम र विवरण हेर्न मिल्ने भए पनि कर्मचारीले पुनर्पुष्टि नगरी अनुमती दिने गरेका थिए । ‘अन्तिम श्रमस्विकृतीपछि समेत कागजात नराखी कामदारलाई पठाउने गरेको भेटियो’ अख्तियारका उपसचिव घिमिरेले बताए ।
घटनाको छानविनमा संलग्न स्रोतका अनुसार, श्रम स्विकृती शाखाका कर्मचारीहरुले प्रति कामदार ४ हजार रुपैंयासम्म असुल्ने गरेका छन् । श्रम स्विकृतीको प्रक्रिया पार भएपछि विमानस्थलमा प्रतिव्यक्ति थप ४ हजार रुपैंया उठाउन श्रम डेस्क र अध्यागमनका कर्मचारीहरुले ‘फिप्टी/फिप्टी’ गर्ने गरेको अख्तियारले बतायो । कर्मचारीले कामदारसँग रकम नअसुली सिधै म्यानपावर व्यवसायीसंगबाट लिने गरेका छन् ।
0 comments
Write Down Your Responses