तलब नपाउँदा प्रधानाध्यापक वैदेशिक रोजगारीमा हिँडे

विद्यालयको आन्तरिक स्रोत नभएपछि कोलीले गएको नौ महिनादेखि तलब पाउन सकेका थिएनन् । मासिक रु पाँच हजार तलब पाउने गरी उनी विद्यालयमा नियुक्त गरिएका थिए । कोली परिवारले गाउँका विद्यार्थीलाई घर नजिक पढाउन स्थानीय जनताले दान गरेको जग्गामा विद्यालय स्थापना गरेको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर कोलीले स्रोत जुटाउन नसक्ने अवस्था आएपछि कोलीलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न नसकिएको बताउनुभयो ।
“लामो समयदेखि कार्यरत प्रधानाध्यापक विदेश जाँदा लज्जास्पद भएका छौँ,” अध्यक्ष कोलीले भन्नुभयो, “स्रोत नै नभएपछि रोक्न सकेनौँ ।”
विद्यालयका लागि स्रोत जुटाउन सरकारी तथा गैरसरकारी निकायमा पटकपटक धाउँदा पनि सहयोग पाउन नसकेको उहाँले बताउनुभयो ।
पढाइमा मिहिनेती र शिक्षक विद्यार्थी सबैलाई मिलाउन सक्ने व्यवहारका कारण उच्च माध्यमिक शिक्षा अध्ययन गर्दै गर्दा कोलीले प्रधानाध्यापकको जिम्मेवारी पाएका थिए । राहत कोटामा कार्यरत शिक्षिकाको तलबबाट कोलीलाई तलब दिइँदै आएको भएपनि शिक्षिकाले आफ्नो तलबबाट रकम दिन नमानेपछि प्रअ कोलीले तलब थाप्न पाएका थिएनन् ।
विद्यालयमा अधिकांश दलित समुदायका विद्यार्थी अध्ययन गर्ने भएकाले अभिभावकबाट आर्थिक सहयोग जुटाउन नसकिएको अध्यक्ष कोलीको भनाइ छ । प्रधानाअध्यापक वैदेशिक रोजगारीमा लागेपछि बैकल्पिक रुपमा विद्यालयकै अर्का शिक्षकलाई प्रअको जिम्मेवारी दिइएको छ । विद्यालयमा ७० विद्यार्थी अध्ययनरत छन ।
0 comments
Write Down Your Responses