आमाघर’मा पस्ने सरकारले ‘ह्याप्पी होम’का वालबच्चालाई देखेन
१७ फागुन, काठमाडौं
आमाघरबाट ३४ बालबालिकालाई ‘उद्धार’ गरियो । दिलशोभामाथि लागेका आरोपहरु
छानविन भइरहेको छ, छानविनपछि नै सबै तथ्यहरु खुल्दै जालान्ं । तर, दिलशोभाको आमा घरबाट उद्धार गरिएका ३४ बालबालिका कहाँ छन् भनेर खोज्दै जाँदा केही थप घटना भेटिएका छन्, जसबाट नेपाली वालवालिकाको सुरक्षामाथि गम्भीर प्रश्न उठेका छन्
दिलशोभा श्रेष्ठको आमाघरमा रातारात छापा मारेको जिल्ला प्रशासन कार्यालयले नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २४ घण्टाभित्र बालबालिकाको उद्धार गर्नुपर्ने भनिएको ‘हृयापी होम’लाई भने त्यसै छाडेको भेटिएको छ । तीनजना बालकलाई बन्धक बनाएको अवस्थामा उद्धार गरेर प्रहरीले ह्याप्पी होमका सञ्चालकलाई पक्राउ गरी थुनामा राखिरहेको छ ।
वालवालिकाको आश्रम खडा गरेर मानव बेचविखन र शरीर बन्धक बनाएको प्रहरीले सञ्चालकमाथि गम्भीर आरोप लगाएको छ । तर, सञ्चालकलाई पक्राउ गरेको दुई सातासम्म ८३ बालबालिकालाई उद्धार गर्न कुनै पहल भएको छैन । ह्याप्पी होममा रहेको ती वालवालिकाको अवस्था आमाघरको भन्दा दयनीय रहेको बुझिएको छ ।दिलशोभाको आमा घरमा प्रहरीले छापा मार्नुभन्दा झण्डै २ साताअघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले धापाखेलस्थित हृयापीहोमका सञ्चालक विश्वप्रताप आचार्यलाई पक्राउ गरेको हो । उनले बन्धक बनाएका तीन बालकको समेत उद्धार गरिएको छ । प्रहरी हिरासतमा रहेका आचार्यमाथि मानव बेचविखन, शरीर बन्धक जस्ता जघन्य अपराध गरेको मुद्दा लगाइएको छ । तर, आचार्यले आफू हिरासतमुक्त हुनका लागि नेताहरु मार्फत प्रहरीलाई चर्को दबाव दिइरहेको स्रोत बताउँछ ।
यसरी गरियो अनुसन्धानआचार्यले विभिन्न प्रलोभन देखाएका हुम्ला, जुम्ला लगायतका विकेट क्षेत्रबाट समेत बालबालिका जम्मा पारेका छन् । संखुवासभा मकालु-६ नवगाउँका स्थानीयले आफ्नो बालबालिकालाई भेट्न नदिएको उजुरी परेपछि सीआईबीले छानविन थालेको थियो ।
अनुसन्धानका क्रममा पेम्बा नुर्वु शेर्पा र लाप्पा डोमा शेर्वालाई धापाखेल मिलन वस्तीस्थित पारस पोखरेलको घरमा लुकाइराखेको अवस्थामा र फूर्लाम शेर्पालाई सडक किरानमा लुकाइराखेको अवस्थामा भेटाएपछि सीआईबीले उनीहरुको उद्धार गरी सञ्चालकलाई पक्राउ गरेको थियो ।
स्याउ दिँदा दसैंको सम्झनाहृयापी होममा ८३ जना बालबालिका छन् । सानो पाइलाले सीआईबीलाई बुझाएको अध्ययन प्रतिवेदनअनुसार हृयापी होममा रहेका बालबालिकाहरुको अवस्था निकै जोखिमयुक्त छ । ‘उद्धार गरिएका बालकलाई स्याउ दिँदा आज दशैं हो अंकल भनेर सोधे । किन भन्दा त्यहाँ त दशैं तिहारमा मात्र दिन्थे भने’ प्रतिवेदनलाई उदृत गर्दै स्रोतले भनेको छ-’बालबालिकाले तरकारी देख्न पाएका छैनन् । उनीहरुलाई पीठोको खोलेको भरमा राखिएको छ ।’अचार्यले आफ्नो सन्तानको हेरचाहका लागि हृयापी होममा राखिएका पाँच जनालाई काममा लगाएको र उनीहरुलाई शारीरिक यातना समेत दिने गरिएको छ । ‘बालबालिकालाई एक अर्कालाई पिट्न लगाउँथे’ उद्धार गरिएका बालबालिकाको बयानमा समेत भनिएको छ-’आचार्यको पत्नीले पाइपले पिट्थे ।’ हृयापी होममा भएका बालबालिकालाई परिवारसँग भेट्न दिइएको छैन भने त्यहाँ भएका बालबालिका बेचविखन भएको हुन सक्ने आशंका समेत गरिएको छ ।
बालबालिकाको उद्धारमा प्रशासनले चासो दिएन
हृयापी होमबारे झण्डै सात महिना अनुन्धान गरेको गैरसरकारी संस्था सानो पाइला र केन्द्रीय अनुसन्धान व्यूरोले २४ घण्टाभित्र हृयापी होममा रहेका बालबालिका उद्धार गर्न आग्रह गरिएको भए पनि जिल्ला प्रशासन कार्यालयले कुनै चासो दिएको छैन ।
‘आमाको घरभन्दा कयौ गुणाबढी जोखिममा बालबालिका छन् भन्ने अनुसन्धानले देखाएको छ’ एक अधिकारी भन्छन्-’तर, जिल्ला प्रशासनले कुनै चासो दिएको छैन । कहाँबाट दबाव आएको छ, हामीलाई थाहा छैन ।’ स्रोतका अनुसार आचार्यलाई पक्राउ नगर्न भन्दै सीआईबीलाई राजनीतिक दलका नेताबाट समेत दबाव आएको थियो । यद्यपि अनुसन्धान प्रक्रियामा रहेको भन्दै अधिकारीहरुले दबाव दिने नेताहरुबारे भने अहिले नै केही बताउन अस्वीकार गरे ।
0 comments
Write Down Your Responses