नेम्बाङलाई अध्यक्षमा विजयी गराउन एमालेको आग्रह

काठमाडौं, ४ फागुन । नेकपा एमालेले यही फागुन ६ गते हुने संविधानसभाका अध्यक्षको निर्वाचनमा सो
पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई विजयी गराउन नेपाली काँग्रेसलगायत सबै दलका सभासद्लाई आग्रह गरेको छ ।
पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको स्थायी समितिको बैठकले गत माघ २६ गते काँग्रेससँग भएको सातबुँदे सहमतिअनुसार अध्यक्षमा नेम्वाङलाई उम्मेदवार बनाइएको बैठकपछि पार्टीका अध्यक्ष झलनाथ खनालले जानकारी दिनुभयो ।
दुई दलबीच भएको सातबुँदे सहमतिमा संविधानसभाको अध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको थियो । यस्तै एमालेले आगामी नवौं महाधिवेशनका लागि यही फागुन १० गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।
सरकारमा सहभागिताका सम्बन्धमा के निर्णय भयो भन्ने प्रश्नमा अध्यक्ष खनालले यसबारेमा थप निर्णय गरिरहनु नपर्ने र के गर्ने भन्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको स्पष्ट गर्नुभयो ।
एमालेका सचिव विष्णु पौडेलले पनि सरकारमा सहभागिताका बारेमा आजको बैठकमा कुनै छलफल नभएको बताउनुभयो ।विवादका कारण प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला गत माघ २७ गते निर्वाचित भएपनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।

0 comments

Write Down Your Responses

Powered by Blogger.