तेह्र लाख गरिब घरपरिवारको तथ्यांक संकलन

धनगढी, २ फागुन । गरिबी न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको गरिब घरपरिवार पहिचान कार्यक्रम कार्यान्वयनको सिलसिलामा देशभरिका २५ जिल्लामा १३ लाख घरपरिवारको तथ्यांक संकलन गरिएको छ ।
 नेपाल सरकारले गत वर्षदेखि सञ्चालन गरेको यो कार्यक्रमको कार्यान्वयनको क्रममा पहिलो चरणमा बढी
गरिबीको समस्या देखिएका कैलालीसहित देशभरका २५ जिल्लामा गरिबी तथ्याङ्क सङ्कलन भइसकेकामा सङ्कलित तथ्याङ्कलाई आधार मानेर वास्तविक गरिबको पहिचानका थप कार्यक्रमका साथै जिल्लास्तरमा गुनासो सुनुवाइलगायतका गतिविधि सुरु गरिएको बिहीबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।
 गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण जिल्लाका समस्या र समाधान विषयक उक्त गोष्ठीमा गरिबको वास्तविक तथ्याङ्क प्राप्त भएपछि उनीहरुलाई परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको सचिवालयका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिनुभयो ।
 परिचयपत्र वितरणपछि गरिब घरपरिवारलाई विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउने लक्ष्य सरकारको रहेको छ । यस क्रममा परिचयपत्र प्राप्त गरिबलाई कृषि, पशुपालन, उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रममार्फत गरिबको गरिबी घटाउन प्रयाससमेत गरिने जनाइएको छ ।गोष्ठीको शुभारम्भ गर्दै सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव लालमणि जोशीले लक्ष्यमुखी कार्यक्रम कार्यान्वयनले मात्रै देशको गरिबी कम गर्न सकिने बताउनुभयो ।
 अहिले सरकारका गरिब लक्ष्यित २९३ वटा कार्यक्रम तथा योजना सञ्चालनमा रहेकामा यी कार्यक्रमलाई ‘लिक’मा ल्याउने प्रयास मन्त्रालयअन्तर्गतको यो बोर्डले गरिरहेको जोशीले बताउनुभयो ।द्वन्द्वको प्रमुख कारणमा गरिबीलाई नै लिइने गरिएको छ ।    नेपाल जीवनस्तर सर्वेक्षण २०११ को तथ्याङ्कका अनुसार नेपालमा २५ दशमलव २ प्रतिशत व्यक्ति गरिबीको रेखामुनि रहेका छन् । यद्यपि, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले वञ्चितीकरणका आधारमा गरेको सर्वेक्षणका अनुसार नेपालमा अझै पनि ४२ प्रतिशत व्यक्ति गरिबीको रेखामुनि रहेका छन् ।
 नेपालमा कर्णाली अञ्चलका साथै सुदूरपश्चिमका अधिकांश जिल्लामा बढी गरिबी रहेको बताइएको छ । विभिन्न जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको दुई दिने उक्त गोष्ठीमा गरिबको वास्तविक तथ्याङ्क सङ्कलन गर्न अपनाइने आधार, देखिने समस्या र समाधानका उपायबारे सुझाव सङ्कलन गरिने जनाइएको छ ।
 गोष्ठीमा बोर्डका कार्यकारी उपाध्यक्ष दुर्गा भट्टराई, कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकलगायतले गरिबी घटाउन अपनाउनु पर्ने रणनीतिका विषयमा प्रकाश पार्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.