लखन थापालाई प्रथम सहिद घोषणा गर्न माग

जहानियाँ राणाशासनको समयमा हत्या गरिएका लखन थापालाई प्रथम सहिद घोषणा गर्न उनको गाउँ गोरखा बुङकोटका स्थानीयले माग गरेका छन् । एक सय ३७ वर्षअघि राणाशासनविरुद्घ लागेको भन्दै बुङकोटको काहुले भंगारमा खिर्राको रूखमुनि तत्कालीन सरकारले फाँसी दिएर लखन र जैसिङ चुमी राना मगरको हत्या
गरेको थियो ।लखन थापा मगर तथा जैसिङ चुमी प्रजातान्त्रिक क्लबको आयोजनामा शुक्रबार भएको स्मृति कार्यक्रममा बोल्दै स्थानीय कृष्ण आलेले भने, ‘एक सय ३७ वर्षअघि एकतन्त्रीय राणाशासन कालमा लखन थापा र जैसिङ चुमीको यहीँको खिर्राको रूखमा फाँसी दिएर मारिएको थियो, कि त सरकारले त्यसभन्दा अघि कोही सहिद भएको छ भन्नुपर्‍यो, कि लखन थापालाई प्रथम सहिद घोषणा गर्नुपर्‍यो ।’ बुङकोटवासीले दुई दशकदेखि थापालाई प्रथम सहिद घोषणा गर्न सरकारसमक्ष माग गरे पनि अझै त्यसको सुनुवाइ नभएको भन्दै उनले चिन्ता जनाए ।जहानियाँ राणाशासनविरुद्घ बोली फाँसीमा पर्ने पहिलो व्यक्ति लखन थापा नै हुन् ।’ स्थानीय मितबहादुर रानाले भने, ‘लखनलाई राष्ट्रिय विभूति प्रदान गर्नुपर्छ र उहाँको जीवनी पाठ्यक्रममा समावेश गर्नुपर्छ ।’ कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदादेखि नै बुङकोटवासीले थापालाई प्रथम सहिद घोषणा गर्न माग गरेका थिए ।यस्तो छ इतिहासजंगबहादुर राणाको निरकुंश शासनको विरोध गर्दा ४२ वर्षको उमेरमा लखन थापाको हत्या भएको थियो । ३ फागुन १९३३ मा गोरखा बुङकोटको काउले भंगारमा लखन थापा र सहकर्मी जैसिङ चुमीलाई खिर्राको रूखमा फाँसी दिएर हत्या गरिएको थियो । त्यसैको सम्झनामा अहिले पनि बुङकोटवासी लखन थापा र जैसिङ चुमीको स्मृति दिवस मनाउँछन् ।लखन थापा र जैसिङ चुमी सेनामा काम गर्थे । उनीहरू लामो सयमसम्म घरबिदामा बसेपछि लखनको हजुरआमाले ‘छुट्टी सकियो बाबु, अब काम गर्न जाउ, भन्दा’ उनीहरू नमानेको स्थानीय बताउँछन् । उनीहरू एकतन्त्रीय जहानियाँ राणाशासनको विरोध गर्दै हिँड्थे ।
 जैसिङ चुमीका नाति ७७ वर्षीय रत्नबहादुर चुमी आफ्नो फुपूले भनेको इतिहास यसरी सुनाउँछन्, ‘सेनामा जागिर खानै नगई यहीँ सानो राज्य बनाई लखन थापा राजा भएर र हजुरबुबा जैसिङ मन्त्री भएछन् ।जंगबहादुरको राज्यमा अर्को रजौटा निक्लिएछ भनेर जंगबहादुरले २० जना सिपाही यहाँँ पठाएछन् । लखन थापालाई मार्न जंगबहादुरले सिपाही पठाएपछि रानीले नराम्रो सपना देखेर नमार्नु भन्ने हुकुम हुँदा यहाँ दुवैजनाको हत्या भइसकेको थियो ।’
लखन थापा र जैसिङ चुमीको मृत्यु भएपछि जैसिङका छोरा गजसिङ ६ महिनाका थिए । उनलाई पनि तत्कालीन राणाकालीन सरकारले मार्ने डरले बुङकोटनजिकैको रानागाउँमा लुकाएर राखिएको थियो । लखन थापा र जैसिङ चुमीको अझैसम्म काजक्रिया नभएको रत्नबहादुरले बताए ।
उनले भने, ‘अहिलेसम्म दुवैजनाको काजक्रिया भएको छैन, मेरा बाजे जैसिङको मात्र काजक्रिया गरौँ भने लखन र जैसिङ दुवैको एकै ठाउँमा रगत मिसिएको छ ।’ उनले काजक्रियाका लागि सम्बन्धित ठाउँमा कुरा पुर्‍याइदिन पनि माग गरे ।

0 comments

Write Down Your Responses

Powered by Blogger.