कतारमा कामदारको नयाँ सुरक्षा मापदण्ड

२ फागुन, काठमाडौं । कतारले निर्माण क्षेत्रमा संलग्न कामदारको अधिकार र सुरक्षाका लागि नयाँ मापदण्ड लागू गरेको छ । विश्वकप २०२२ को आयोजना गर्न गइरहेको कतारमा निर्माण क्षेत्रमा काम गर्ने कामदारको
अवस्था दयनीय भएको भन्दै विश्वव्यापी आवाज उठ्न थालेपछि ‘कतार सुपि्रम कमिटी फर डेलिभरी एन्ड लिगेसी’ ले श्रमिकको कल्याणकारी सुरक्षासम्बन्धि मापदण्ड सार्जजनिक गरेको हो ।समितिले नियमित तलब पाउने व्यवस्था, उचित बसोबास, कामदारको निःशुल्क लागत खर्च, उनीहरुले पाउने अधिकारलगायत विषयलाई सम्बोधन गर्दै मापदण्ड ल्याएको हो । यो मापदण्ड तत्काल वृहत् निर्माणाधीन आयोजनाहरुमा लागू हुनेछ ।कतारमा निर्माण क्षेत्रमा सबैभन्दा धेरै कामदार नेपाली नै छन् । त्यहाँ कार्यरत करिब ४ लाख नेपालीमध्ये आधा निर्माण क्षेत्रमै छन् । ‘अब सबै कामदारको तलब बैंकमार्फत दिलाइनेछ, जसले गर्दा तलब समयमा नै पाएको/नपाएको पुष्टि हुन्छ,’ समितिले भनेको छ । समितिले एउटा कोठामा चार जनाभन्दा बढी कामदार राखन नपर्ने व्यवस्था मिलाएको छ ।
त्यहाँ केही कम्पनीले फाइदाका लागि एउटै कोठामा १६ जनासम्म राखेका छन् । समितिले भनेको छ, ‘मापदण्डभन्दा बढी कामदार राखिएका कम्पनीलाई कारबाही गरिनेछ ।’ समितिले सबै कामदारले राहदानी आफूसँग राख्न पाउने, नयाँ कामदारको भिसा र हवाई टिकट रोजगारदाताले उपलब्ध गराउने, प्रत्येक क्याम्पसमा सबै मुलुकका कामदारका प्रतिनिधि रहने गरी एउटा श्रमिक कल्याणकारी मञ्च बनाउने लगायत व्यवस्था मिलाएको कान्तिपुर दैनिकमा खबर छ ।
उसले राष्ट्रियता, जाति, धर्मका आधारमा तलबमान र अवसरमा भेदभाव गर्न नपाइनेसमेत मापदण्ड बनाएको छ ।
0 comments
Write Down Your Responses