सप्तरीमा २१ प्रतिशत बालबालिकामा कुपोषित देखियो

जिल्लामा कुल बालबालिकामध्ये छ महिनादेखि पाँच वर्षसम्मका ६२ हजार १ सय ५० बालबालिका कुपोषणको सिकार रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।
सोमध्ये तीन प्रतिशत अर्थात् एक हजार ८६४ जना बालबालिका कडा कुपोषणबाट पीडित छन् भने २१ प्रतिशत अर्थात् ११ हजार १ सय ८७ जना बालबालिका मध्यम कुपोषणबाट ग्रसित रहेको तथ्यांकमा उल्लेख छ ।कडा र मध्यम दुवै प्रकारको कुपोषणबाट २१ प्रतिशत अर्थात् १३ हजार ५१ जना बालबालिका पीडित छन् । कुपोषणको सिकार भएका बालबालिकामध्ये तीन हजार ६ सय कडा कुपोषित बालबालिकालाई डेढ वर्षको अवधिमा उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिनुभयो ।
आगामी दुई महिनाभित्र करिब ९० प्रतिशत कुपोषित बालबालिकालाई उपचार गरिने लक्ष्य लिएको प्रमुख झाको कथन छ । कुपोषणको दृष्टिकोणले सोमालिया र अफ्रिकाभन्दा पनि नाजुक अवस्थामा सप्तरी रहेकोले जनस्वास्थ्य कार्यालयले कुपोषणको विकराल समस्या समाधानका लागि प्रचारात्मक, रक्षात्मक र प्रतिरोधात्मक कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख झाको भनाइ छ ।
युनिसेफको सहयोगमा एसिएफले कुपोषित बालबालिकालाई स्वास्थ्य उपचार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख झाको भनाइ छ ।
कुपोषित बालबालिकाको उपचारका लागि नेपाल युथ फाउन्डेसनको सहयोगमा विगत तीन वर्षदेखि राजविराजमा पोषण पुनःस्थापना गृह सञ्चालनमा छन् ।
महिला वातावरण तथा ग्रामीण विकास संस्थाको सहकार्यमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्राङ्गणमा सञ्चालित पोषण पुुनःस्थापना गृहले विगत तीन वर्षको अवधिमा ४१३ कुपोषित बालबालिकालाई स्वास्थ्य सेवा उपलब्ध गराएको पोषण पुनःस्थापना गृहका प्रमुख रश्मी झाले बताउनुभयो ।
0 comments
Write Down Your Responses