मिर्गौला दान गर्न महिला अगाडि, लिन पुरूष अगाडि

काठमाडौं : नेपालमा मिर्गौला दान गर्नेमध्ये करिब ८० प्रतिशत महिला छन्। मिर्गौला प्रत्यारोपण गर्ने
उपत्यकाका ठूला सरकारी अस्पतालको तथ्यांकअनुसार २० प्रतिशत पुरुषले मात्रै मिर्गौला दान गरेका छन्।
वीर अस्पताल, शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले हालसम्म करिब पाँच सय मिर्गौला प्रत्यारोपण गरेका छन्। सबैभन्दा धेरै शिक्षण अस्पतालमा दुई सय २८ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ। अस्पतालका चिकित्सक महेश सिग्देलका अनुसार यीमध्ये दुई तिहाइ महिला छन्।
मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले एक सय १२ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। केन्द्रमा मिर्गौला दान गर्नेमध्ये ७६ प्रतिशत महिला छन् भने २४ प्रतिशतमात्र पुरु ष छन्। दान गरिएको मिर्गौला पाउनेमा पनि १३ प्रतिशत महिला र ८७ प्रतिशत पुरुष छन्।
वीर अस्पतालमा हालसम्म ९८ जनाको प्रत्यारोपण गरिएको छ। तीमध्ये ९३ जना महिलाले र पाँचजना पुरुषले मिर्गौला दान गरेका छन्। अस्पतालका निर्देशक डा. बुलन्द थापाका अनुसार आफन्तलाई मिर्गौला दिन महिला नै सबैभन्दा बढी आउँछन्। अस्पतालले २०६२ सालदेखि नै प्रत्यारोपणको काम थाले पनि २०६५ सालदेखि मात्रै निरन्तरता दिएको थियो।
शिक्षण अस्पताल महाराजगन्जले २०६४ सालदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको हो। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले भने तीन वर्षदेखि सेवा सुरु गरेको हो। केन्द्रका कार्यकारीनिर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार भक्तपुरमा ८० प्रतिशतभन्दा बढी महिलाले मिर्गौला दान गर्छन्। 'मिर्गौला लिनेमध्ये ९० प्रतिशत पुरुष छन्।'
मानव शरीर प्रत्यारोपण एेन, २०५५ ले नजिकका नाताले अंग दिन पाउने व्यवस्था गरेको छ। बिरामीका छोरा, छोरी, आमा, बाबु, दाजु, भाइ, दिदी, बहिनी, काका, भतिज, बाबुतर्फका बाजेबज्यै, छोरातर्फका नातिनातिना, छोरीतर्फका नातिनातिना र दुई वर्षदेखि अटुट सम्बन्ध रहेको पति, पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी आमा, बाबु आदिले अंग दिन पाउने प्रावधान छ।
महिलामा मिर्गौला प्रत्यारोपण गर्न नचाहने मानसिकताका कारण पनि महिलाले नै बढी मिर्गौला दान गरिरहेको चिकित्सक बताउँछन्। श्रेष्ठले भने, 'जसरी भए पनि पुरु षलाई बचाउनुपर्छ भन्ने सामाजिक बुझाइका कारण पनि महिलाले बढी मिर्गौला दान गरेको पाइन्छ।'
समस्या भएका मिर्गौलाको कम्तीमा सातामा दुईपटक डाइलासिस गर्नुपर्छ। एकपटक डाइलासिस गर्दा २५ सयदेखि तीन हजार रुपैयाँसम्म खर्च हुन्छ। नेपालमा मिर्गौला प्रत्यारोपण गर्न कम्तीमा तीन लाख ५० हजारदेखि आठ लाखसम्म लाग्छ।
आरोग्य प्रतिष्ठानको सर्वेक्षणअनुसार नेपालमा ३० लाख मानिसमा कुनै न कुनै प्रकारको मृगौलासम्बन्धी समस्या छ। प्रत्येक वर्ष करिब तीन हजारजनाको मिर्गौलाले काम गर्दैन।
मिर्गौलासम्बन्धी समस्या विश्वव्यापी रूपमा बढिरहेको छ। सिग्देलका अनुसार मधुमेह, मोटोपना र उच्च रक्तचाप नै यसका मुख्य कारण हुन्। मिर्गौलाको समस्या जुनसुकै उमेरसमूहका व्यक्तिलाई हुनसक्छ। चिकित्सकका अनुसार मिर्गौला प्रत्यारोपण नै सबैभन्दा उत्तम विकल्प हो। 'यो गुणस्तरीय, लामो समयसम्म टिकाउ र सस्तो पर्छ।'
यसैबीच सरकारले मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुन पुनर्विचार गर्ने तयारी गरेको छ। वीर अस्पतालका निर्देशक थापाका अनुसार आफन्तले मात्रै मिर्गौला दिन पाउने कानुनी व्यवस्थाका कारण प्रत्यारोपण गर्न धेरै बिरामी भारत गइरहेका छन्। प्रत्येक वर्ष मिर्गौला उपचारमा मात्रै ६ अर्ब रुपैयाँ बिदेसिने मानव अंग प्रत्यारोपण केन्द्रको तथ्यांक छ।

0 comments

Write Down Your Responses

Powered by Blogger.