६२ सालमै अपहरणमा परेका ६ जनाको अवस्था अझै अज्ञात

२२ फागुन, सप्तरी । तराईमा सशस्त्र समूहको गतिविधि सुरु भएयता अपहरणमा परेका सप्तरीका ६ जनाको अवस्था अझै अज्ञात छ ।
विसं २०६२ चैत ६ गते राजविराजबाट अपहरणमा परेका सप्तरीको सिम्राहा सिङ्ग्यौन गाविसका रामप्रसाद यादवको हालसम्म अवस्था अज्ञातै रहेको छ । सरसामान किन्न राजविराज आउँदा अपहरणमा परेका यादवको अवस्था अझै पत्ता लाग्न नसक्दा उनका परिवारजन चिन्तित बनेका छन् ।यस्तै २०६६ साल फागुन ६ गते अज्ञात समूहको अपहरणमा परेका बेल्ही चपेना-४ का ५० वर्षका रामवृक्ष साहको अवस्था पनि अझै सार्वजनिक हुन सकेको छैन । शम्भुनाथ गाविसबाट आफ्नो घरतर्फ गइरहेको बेला साहलाई अज्ञात समूहले बाटोबाटै अपहरण गरी लगेको थियो । अपहरणकारीलाई उनीहरुले टेलिफोन सम्पर्कबाट भनेको ठाउँमा रकम बुझाए पनि यनी मुक्तन नभएको प्रहरीले जनाएको छ । अपहरणकारीको टेलिफोन नम्बरहरु प्रहरीलाई दिए पनि बुबालाई मुक्त गराउन कुनै पहल हुन नसकेको अपहृतका छोरा सन्तोष साहले बताए ।
यस्तै २०६६ साल असार ११ गते अज्ञात समूहको अपहरणमा परेका सप्तरी भारदह-५ का काँग्रेस कार्याकर्ता कृष्णदेव विश्वासको अवस्था पनि हालसम्म अज्ञातै छ । नेपाली काँग्रेस सम्बद्ध ट्रेड युनियन काँग्रेस भारदह इकाईका अध्यक्षसमेत रहेका ३५ वर्षका विश्वासलाई अज्ञात समूहले घरबाटै अपहरण गरेको थियो ।
यस्तै भारदह-३ निवासी कपडा व्यापारी अशोक दासको पनि अवस्था अझै अज्ञात छ । राजविराजबाट घर जाने क्रममा २०६१ साल पुस ६ गते बेपत्ता भएका दासको अपहरण भएको हो कि कसैले हत्या गरेको हो त्यसबारे अझै केही खुल्न नसकेको निजकी श्रीमती गीता बताउँछिन् ।
त्यस्तै अज्ञात समूहकै अपहरणमा परेका बरही वीरपुर-५ निवासी १७ वर्षका सञ्जीवकुमार साहको पनि अवस्था अझै अज्ञात छ । २०६७ साल कात्तिक २६ गते छठ पर्वको राति घरनजिकैको पोखरीको डिलबाट अपहरणमा परेका सञ्जीवको अवस्था अझै पत्ता लाग्न नसक्दा परिवारजन चिन्तामा डुबेको अपहृतका दाजु रञ्जितकुमार साहले बताए ।
भाइलाई मुक्त गराउन अपहरणकारी समूहलाई फिरौती तिरे पनि अझै अवस्था सार्वजनिक नहुँदा परिवारका सबै सदस्य चिन्तामा डुबेको रञ्जितको कथन छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.