होली मनाउने क्रममा दुईको मृत्यु केही पक्राउ

होलीका क्रममा जबर्जस्ती गरेको अभियोगमा प्रहरीले काठमाडौँ उपत्यकाबाट ४६७ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिनुभयो । यस्तै, मादक पर्दाथ सेवन गरी मोटर साइकल चलाएको आरोपमा १४० वटा मोटर साइकललाई नियन्त्रणमा लिइएको छ ।
प्रवक्ता केसीले भन्नुभयो – जबर्जस्ती लोला हानेको, रङ्ग दलेको, सार्वजनिक स्थानमा अवाच्छित गतिविधि गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।
त्यसैगरी, होली खेल्ने क्रममा लडेर दुई बालकको ज्यान गएको छ ।
महानगरीय प्रहरी प्रभाग काठमाडौँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अर्जुन चन्दका अनुसार धापासी–९ वसुन्धारामा १२ वर्षीय अर्पण राईको घरको छतबाट लडेर मृत्यु भएको हो ।
यस्तै, धर्मस्थलीका १४ वर्षीय अनिल महर्जनको जनमैत्री अस्पताल बालाजुमा उपचारको क्रममा मृत्यु भयो । होली खेल्ने क्रममा बिहान साढे नौ बजे धर्मस्थली जरङ्कुमा बेहोस भई लडेका महर्जनको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै ट्राफिक प्रहरीले होली पर्वलाई दुर्घटना शून्य बनाउन र जथाभावी सवारी साधन चलाउने कार्यलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि सवारी जाँचमा कडाई गरेको थियो ।
जाँच कार्यलाई प्रभावकारी बनाउन घुम्ती टोलीसमेत खटाइएको थियो ।
0 comments
Write Down Your Responses