सरकारी जग्गा कब्जा गरी बिक्री गर्नेहरूविरुद्ध मुद्दा दायर

गाईघाट (उदयपुर), चैत २ गते । एैलानी जग्गा भन्दै सरकारी जग्गा बिक्री गर्ने सातजनाविरुद्ध इलाका प्रहरी कार्यालय बेल्टारले जिल्ला अदालत उदयपुरमा मुद्दा दायर गरेको छ । 
सिमलटार बजार व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर मगर, सचिव अपार ओझालगायत सातजनाको समूहले बजारको २३ कित्ता जग्गा स्थानीय बासिन्दालाई कपाली तमासुक गर्दै बिक्री गरेपछि उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।बजार व्यवस्थापन समितिका अध्यक्ष मगरसहित सातजनाले २३ कित्ता सरकारी जग्गा स्थानीय २३ जनालाई प्रतिघडेरी रु ३० हजारदेखि ४० हजारमा कपाली तमासुक गर्दै बिक्री गरेको थाहा पाएपछि आफूहरूले पक्राउ गरेर म्याद थप गरी जिल्ला अदालत उदयपुरमा मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख ढुङ्डीराज न्यौपानेले बताउनुभयो ।
यसरी मुद्दा चलाइएकाहरूमा सिद्धिपुर–४ का दिलबहादुर मगर, अपार ओझा, मानबहादुर खत्री, दीपक मगर, तिलकबहादुर विक र बेल्टार–१ का धनबहादुर राई रहेका छन् ।
उनीहरूलाई जिल्ला अदालत उदयपुरमा मुद्दा चलाइए पनि हाल इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको प्रहरीले बताएको छ । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.