राजनीतिक दुर्घटना नभए दश महिनाभित्र संविधान : मन्त्री आचार्य

उदयपुर, २१ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले नेपालमा अब कुनै राजनीतिक दुर्घटना वा सरकार ढाल्ने खेल नभए अबको दश महिनाभित्र संविधान जारी गर्ने बताउनुभएको छ । प्रेस चौतारी उदयपुरद्वारा बुधबार उदयपुरको गाईघाटस्थित शान्ति समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सल्लाह परिषद्को सदस्यसमेत रहनु भएका मन्त्री आचार्यले भन्नुभयो, “अब वर्तमान सरकारलाई सबैले सहयोग गरेर राजनीतिक दुर्घटना हुनबाट बचाएर लगे दश महिनाभित्र आफूहरुले कुनै पनि हालतमा संविधान जारी गरेरै छाड्छौँ ।”वर्तमान सरकारको मूल लक्ष्य भनेको समयमा नै संविधान जारी गर्ने र जनतासँग सरोकार रहेका विकासका कामहरुलाई समेत उतिकै प्राथमिकताका साथ अगाडि बढाउन रहेकाले पनि आफूहरु यसतर्फ प्रतिबद्ध रहेको मन्त्री आचार्यले बताउनुभयो ।यस्तै अर्को प्रसङ्गमा मन्त्री आचार्यले अबको तीन महिनाभित्र उदयपुरको जोगीदहमा नयाँ हवाई मैदान निर्माण गर्नसमेत सरकार लागिपरेको उल्लेख गर्नुभयो ।
पत्रकारहरुको प्रश्नको उत्तर दिँदै मन्त्री आचार्यले अहिलेको राजनीतिक प्रक्रियाभन्दा बाहिर रहेको नेकपा–माओवादीलाई समेत संसदमा ल्याउन पहल भइरहेको छ भन्नुभयो । उहाँले सरकारले पर्यटन विकासका लागिसमेत बृहत् योजना तयार गरिरहेको मन्त्री आचार्यले बताउनुभयो ।
एमाले उदयपपुर क्षेत्र नम्बर २ को पार्टी क्षेत्रीय महाधिवेशनको उद्घाटन गर्न मन्त्री आचार्य आजै उदयपुरको गाईघाट आइपुग्नु भएको एमाले उदयपुरले बताएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.