मुल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छः विद्यार्थी नेताहरु
काठमाडौ, चैत १- पेट्रोलियम पदार्थको मुल्यबृद्धिविरुद्ध उपत्यका बन्दसहितका आन्द्योलनको कार्यक्रम
घोषणा गरेका विद्यार्थी संगठनका नेताहरुले बढेको मुल्य पुरै फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।रिपोर्टर्स क्लबले शनिवार आयोजना गरेको साक्षात्कारमा उनीहरुले पाँच दिन सम्म पनि सरकारले मुल्य बृद्धिको निर्णय फिर्ता नलिए आमहडताल सहितको सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए।अनेरास्ववीयूका अध्यक्ष किशोर विक्रम मल्लले बढेको मुल्य पुरै फिर्ता नभएसम्म विद्यार्थीहरुको आन्दोलन फिर्ता नहुने स्पष्ट पार्दै आन्दोलन दवाव खोजे त्यसको चर्को मुल्य सरकारले चुकाउनु पर्ने चेतावनी दिए ।उनले आफ्नो माउ पार्टी सरकारमा रहे पनि विद्यार्थी संगठन उनीहरुलाई बचाउन भन्दा पनि विद्यार्थी र आम जनताको हितको लागि खोलिएकोले जनताको हितमा कसैसँग पनि सम्झौत नगर्ने स्पष्ट पारे ।यसपटक विद्यार्थी आन्दोलन एक दुई रुपैया घटाएर नरोकिने स्पष्ट पार्दै जनतालाई समेत आन्दोलनमा सहभागि हुन आब्हान गरे ।
मल्लले मुल्य बृद्धि गरेर जनताको ढाड सेक्न भन्दा पनि पहिला विभिन्न आयोगले दिएका सुझाव कार्यान्वयन गर्न र आयल निगममा सुधार गरेर घाटा कम गर्न सुझाव दिए ।
नेपाल विद्यार्थी संगठनका अध्यक्ष रञ्जित कर्णले पनि मुल्यबृद्धि पुरै फिर्ता नभएसम्म आन्दोलन जारी रहने प्रतिबद्धता ब्यक्त गर्दै १६ विद्यार्थी संगठनको बन्दको कार्यक्रममा भने आफूहरुको सहमति नभएको बताए ।
कर्णले माउ पार्टी सरकारमा भए पनि आफूहरु विद्यार्थी र जनताको हितको पक्षमा भएकोले सरकारले आब्हान गर्दैमा आफूहरु आन्दोलनबाट पछि नहट्ने बताए ।
अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले सरकारले पुरै मुल्यबृद्धि फिर्ता नगरे आफूहरु आमहडतालसम्मको कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिदै मुल्य बृद्धि गर्नुको साटो आयल निगमलाई दिएको ऋणलाई अनुदानमा रुपान्तरण गरेर निगमभित्रको अनियमितता सुधार गर्न तर्फ ध्यान दिनु पर्ने धारणा राखे ।
नेकपा-माओवादी निकट अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष सरद रसाईलीले केही रकम घटाएर विद्यार्थीहरुलाई फकाउने प्रयास नगर्न चेतावनी दिदै पुरै मुल्य बृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।
उनले ५ रुपैयासम्म मुल्य बृद्धि हुँदा सवारी भाडा नबढ्ने सहमति भए पनि निगमले नियतबस ब्यापारीलाई फाईदा पुग्ने गरी ६ रुपैया मुल्य बृद्धि गरेको भन्दै जनतामाथि भार बोकाउन षडयन्त्र गर्ने कर्मचारीहरुलाई निलम्बन गर्न माग गरे ।
रसाईलिले मुल्यबृद्धि फिर्ता नभए राज्यले यसको चर्को मुल्य चुकाउनु पर्ने चेतावनी दिदै आफूहरु आन्दोलनलाई निष्कर्समा पुर्याउन जुन सुकै हदसम्म जान समेत तयार रहेको दावी गरे ।
मुल्य बृद्धिलाई जनताबाट बनेको सरकारको जनता विरुद्धको राज्य आतंकको सज्ञा दिदै आयल निगममा छानविनको समेत माग गरे ।
समाजवादी विद्यार्थी संगठनका महासचिव दिपक महतोले मुल्य बृद्धि गर्नुको साटो चुहावट नियन्त्रण र निगमको ब्यवस्थापनमा सुधार गर्न तर्फ ध्यान दिनु पर्ने आवश्यकता औल्याए ।
तर, नेपाल आयल निगमले भने कुनै पनि हालतमा मूल्यबृद्धि फिर्ता नहुने बताएका छन् । प्रवक्ता मुकुन्द प्रसाद घिमिरेले विद्यार्थी संगठनहरुलाई आन्दोलन भन्दा पनि मुल्य बृद्धिको उपयूक्त विकल्प दिन आग्रह गर्दै उपयूक्त विकल्प नदिएसम्म मुल्य बृद्धि फिर्ता नहुने स्पष्ट पारे ।
उनले खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ८६४ रुपैया घाटा भएकोले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्नु परेको भन्दै ब्यवसायिक प्रयोजनमा निलो सिलिण्डर पूर्ण कार्यान्वयन भए मुल्य घटाउन सकिने बताए । उनले भने-ग्यासको अनुगमन थालेका छौ निलो सिलिण्डर कार्यान्वयन भएपछि परल मुल्यमा विक्री गरेर पेट्रोलियम पदार्थको मुल्य घटाउँछौ ।
मुल्य बृद्धि अघि विद्यार्थी संगठनहरुसँग समेत छलफल गर्दा बृद्धिको विकल्प नदिएको गुनासो गर्दै घिमिरेले सरकारले समेत अनुदान माग्दा ऋण दिएकोले निगम अझै संकटमा फसेको बताए ।
निगमले बढी भएको कर्मचारी हटाएर, तेलको कुपन वितरण बन्द र प्रशासनीक सुधार गरेर १५ करोड घाटा घटाएको जानकारी दिदै घाटाको कारण आपूर्तिमा समस्या उत्पन्न भएकोले सहज आपूर्तिकोलागि मुल्य बृद्धिको विकल्प नभएको स्पष्ट पारे ।
प्रवक्ता घिमिरेका अनुसार निगमलाई अहिले मासिक १ अर्ब ५ करोड घाटा भएको, ग्यासमा बार्षिक १ अर्ब २९ करोड ७३ लाख घाटा भएको, मुल्यबृद्धि पछि पनि पेट्रोलमा ११ रुपैया १९ पैसा, मट्टीतेलमा ११ रुपैया ३८ पैसा, हवाई ईन्धनतर्फ आन्तरिकमा ३३ रुपैया ३० पैसा, अन्तर्राष्ट्रियमा ४० रुपैया ५५ पैसा नाफा रहेको र डिजेलमा अझै पनि ५ रुपैया २४ पैसा घाटा रहेको छ ।
निगमले हिजोमात्रै पेट्रोलमा प्रतिलिटर १० र डिजेल र मटितेलमा प्रतिलिटर ६ रुपयाँ मूल्यबृद्धि गरेको थियो ।
0 comments
Write Down Your Responses